लन्डन / विगत लामो समयदेखि परिवारका साथ लन्डन बस्दै आएकी एक नेपाली चेली स्वदेशमाथिको आकाश आइपुग्दा खुशीले जति गद्गद् भएकी थिइन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ उनका आँखा भल्भल्ती आँशुले भिज्नुपर्ने अवस्था निम्तियो । गत पुस ३० गते लन्डनको हिथ्रो एयरपोर्टबाट नेपालका लागि उडेको कतार एयरवेजको जहाजबाट गुल्मी रेसुङ्गा नगरपालिका– १ माइती तथा तनहुँ घर भएकी शिलु श्रेष्ठ अन्तर्राष्ट्रिय विमानस्थल उत्रेकी थिइन् । तर, उत्रनेबित्तिकै १५ तोला सुनको गहना र एक थान राडो घडी चोरी भएपछि उनले आँशु बगाउनुपरेको हो । हिथ्रो एयरपोर्टबाट उडेको जहाजले दोहामा तीन घन्टा ट्रान्जिट अवधि गुजारेको र माघ १ गते [जनवरी १५]को दिउँसो साढे तीन बजे नेपाल ओर्लिएर लगेज बक्स हात पार्दा गहना हराएको उनले थाहा पाएकी हुन् । माइती पक्षका एक आफन्त बहिनीको विवाहको निम्तो मान्न लाखौँ रुपैयाँ खर्चेर हर्षित मुद्रामा स्वदेश आएकी शिलु भारी मात्रामा गहना हराएपछि सम्बन्धित निकायमा उजुरी गर्दासमेत सुरक्षा निकायले गम्भीरताका साथ चासो नलिएकोमा थप पीडित बन्न पुगेकी छिन् । यहाँको असुरक्षा र सुरक्षाकर्मीको व्यवहारले आफूलाई गहना हराएकोभन्दा पनि बढ्ता पीडा दिएको प्रतिक्रिया उनले दिइन् । लगेज बक्सको एउटा झोलामा सानो हाते झोलामा राखिएका ती गहना त्यहीँका कर्मचारीबाहेक कसैले झिक्न नसक्ने तर्क गर्दै शिलु भन्छिन्, ‘गहना त फेरि पनि कमाएर म खरिद गर्न सकुँला, तर आफ्नै मुलुकमा भएको चोरी काण्ड र अनुसन्धानका लागि एसियामै दक्ष मानिने नेपाल प्रहरीको फितलो अनुसन्धानले मलाई ज्यादै चित्त दुखेको छ ।’ सामान चोरी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेको, तर आजसम्म कुनै सुइँको पाउन नसकेको उनले थपिन् ।
समय–समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने चोरीका विषयमा आवाज उठ्दै आइरहेको सन्दर्भमा गहना चोरीको यस घटनाले त्यहाँ धनमाल सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा भएको छ ।
प्रतिक्रिया