भारतीय सीमाबाट नेपाल भित्रिने लागूऔषध नियन्त्रणार्थ विशेष कार्ययोजना

भारतीय सीमाबाट नेपाल भित्रिने लागूऔषध नियन्त्रणार्थ विशेष कार्ययोजना


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै लागू पदार्थका कारोबारी तथा दुर्व्यसनीहरुले खैरो हिरोइन तथा औषधिजन्य मनोद्दीपक पदार्थहरु नेपाल भित्र्याएर देशका विभिन्न बजारमा बेचबिखन तथा सेवन गरिरहेको तर्फ प्रहरीको ध्यान गएको पाइन्छ । यस्तो कार्यलाई रोक्न राजधानीमा रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गत वैशाखदेखि तीनमहिने विशेष अभियान चलाइरहेको छ ।

यो अभियानमा भारतीय सीमा नाकाहरुमा प्रहरी टोली परिचालन गरेर कारवाही तथा नियन्त्रण गर्ने, औधिजन्य मनोद्दीपक पदार्थको दुरुपयोगसम्बन्धमा औषधि पसल तथा अन्य स्थानमा निग्रानी बढाउने, लागू औषधसम्बन्धी संगठित एबं ठूला कारोवारीको सूचना संकलन र कारवाही तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय र सहकार्य गरिरहेको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

ब्युरोका अनुसार झापा, मोरङ, सुनसरी र बाँकेमा लागू औषध कारोवारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि बलजफ्ति गरेर भाग्न खोज्दा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा चार जनाको खुट्टामा गोली लागि समान्य घाइते भएका छन् भने अन्य कानूनी कारवाही भैरहेको छ । उनीहरुको साथबाट ५ सय ७५ ग्राम खैरो होरोइन बरामद गरी सम्लग्न ६ जनालाई नियन्त्रणमा लिएको एसएसपी थपलियाको भनाइ छ ।

यही समयमा प्रहरीले कोकिन २ किलो ६ सय ४० ग्राम सहित युगाण्डियन महिलालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । व्यूरो तथा औषधि व्यवस्था विभागको संयुक्त टोलीले राजधानी उपत्यकामा रहेका औषधि पसलहरु; टिसा फार्मेसी मध्यपुर ठीमी, गोगो फार्मेसी कागेश्वरी मनहरा-८, कार्डरभ फार्मेसी काठमाडौ महानगरपालिका-३२, त्रिपुर हेल्थकेयर ललितपुर महालक्ष्मी-५ र विवेकानन्द सुस्वास्थ्य फार्मेसी काठमाडौ महानगरपालिका-१६ समेतमा गोप्य रुपमा प्रहरी निगरानी गरी आकस्मिक अनुगमन तथा छापा मारेको छ । यी स्थानबाट ठूलो मात्रामा लागू औषध बरामद भएका छन् ।

गत वैसाखदेखि जेठ पहिलो सातासम्म ब्युरोले ८३ जनाविरुद्ध मुद्धा दर्ता गरेको छ भने १ सय १४ जना पक्राउ परेका छन् । ट्रामाडोल ९ हजार ५ सय ४४, नाइट्राभेट १८ हजार ७ सय ३८, हेरोइन १ किलो ७ सय ५० ग्राम, कोकिन २ किलो ६ सय ५४ ग्राम, गाँजा ३ किलो र चरेस २ किलो बरामद गरेको छ ।