कैलाश सिरोहियाले तीन दिन हिरासतमै बस्नुपर्ने

कैलाश सिरोहियाले तीन दिन हिरासतमै बस्नुपर्ने


नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाले तीन दिन प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।

उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषा (जनकपुरधाम)का न्यायाधीश चुरामन खड्काको एकल इजलासले आदेश जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन अवालेका अनुसार यसअघि प्रहरीले आज (९ जेठ) बिहान ११ बजे सिरोहियालाई जिल्ला अदालतमा उपस्थित गरी पाँच दिनको समय माग गरेको थियो ।

ज्ञातव्य छ, सिरोहियाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मङ्गलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले उनलाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज बिहान जनकपुर पुऱ्याइएको थियो ।