अमेरिकाबाट समेत नेपाल भित्रन थाल्यो गाँजा

अमेरिकाबाट समेत नेपाल भित्रन थाल्यो गाँजा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपालका पहाडी क्षेत्रको अनुकूल हावापानीका कारण विश्व बजारमा नेपालको गाँजालाई उच्च कोटिको मानिन्थ्यो । त्यही भएर नेपालको गाँजा विश्वका लागूऔषध बजारमा पुग्ने गरेको थियो । तर, अहिले भने विश्व बजारको गाँजा नेपाल भित्रन थालेको छ । अमेरिका, नेदरल्याण्ड, क्यानडा, थाइलैण्डसमेतका देशबाट ब्राण्डेड गरेको गाँजा नेपाल भित्रिने गरेको हो । मुख्यतया हुलाक र कुरियर सेवाको प्रयोग गर्दै विदेशबाट गाँजा भित्रने गरेको छ ।

गाँजाले मानिसको शरिरमा चढाउने नशाको मात्रा किटान गरेर ब्राण्डेड गरिएको गाँजा बाहिरी मुलुकबाट नेपाल भित्रने गरेको हो । माथि उल्लेख भएका देशबाट आएको गाँजा भारत र नेपालमा खपत गर्नका लागि ल्याइएको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए । एसएसपी थपलियाका अनुसार विदेशबाट नेपाल ल्याइएको गाँजा १३ पटक बरामद भएको हो । उक्त गाँजा नेपाल र भारतलाई गन्तव्य देश बनाएर ल्याइएको हो ।

यसरी विदेशबाट नेपाल भित्रिएको गाँजा गत साउनदेखि हालसम्म १ सय २३ किलो ब्युरोले बरामद गरिसकेको छ । ब्युरोका एक अधिकारीका अनुसार विदेशबाट प्रयोग गरिने गाँजामात्र नभएर त्यसको बीउ पनि भित्रने गरेको छ । नेपालमा उत्पादन भएको गाँजा प्रतिकिलो सरदर १५ हजार रुपैयाँसम्ममा किनबेच हुने गरेको पाइन्छ भने विदेशबाट आयात भएकाको मूल्य एकिन छैन ।

ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत साउनदेखि चैत मसान्तसम्म प्रहरीले देशका ३९ जिल्लामा लगाएको गाँजा १ लाख ४६ हजार ५ सय २४ बोट फाँडेको छ । पहाडमा १ सय १२ रोपनी र तराइका जिल्लामा ३९ कठ्ठा जमिनमा लगाएको उक्त गाँजा फडानी गरेको एसपी कार्कीले घटना र विचारलाई बताए ।

देशभित्र गाँजा, अफिम, हेरोइन र कोकिनको कारोबार गर्ने ४ हजार ८ सय १० जना पक्राउ परेका छन् । गाँजा १४ हजार ६ सय ८५ किलो, हेरोहइन ४ सय २६ किलो, अफिम ४५ किलो र कोकिन ७ किलो २५ ग्राम बरामद भएको ब्युरोले जनाएको छ । यस्तै मनोद्विपक लागू औषध डाइजेपामसमेतका २ लाख ३८ हजार पिसबढी बरामद भएको छ ।