कंगो, इथोपिया, दुबईहुँदै नेपाल भित्रियो ३ करोड ८५ लाखको कोकिन

कंगो, इथोपिया, दुबईहुँदै नेपाल भित्रियो ३ करोड ८५ लाखको कोकिन


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अति महँगो मानिने लागू औषध कोकिनका अन्तर्राष्ट्रिय कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो समय कंगोबाट इथोपिया, दुबईहुँदै नेपाल भित्रिएको १ किलो १ सय १ ग्राम कोकिन बरामद गर्न लागू औषध नियन्त्रण ब्युरो सफल भएको छ । यो कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ हुन आउँछ ।

केही दिनअघि ब्युरोले नै अन्तराष्ट्रिय बजारमा ७ करोड ९६ लाख रुपैयाँ मूल्य हुन आउने २ किलो ६ सय ५४ ग्राम कोकिनसहित ३ जना कोकिनका अन्तराष्ट्रिय कारोवारी युगाण्डियन दुई र भारतीय एक महिलालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय नेपाल भित्रिएको कोकिन दुबईबाट काठमाडौं आएकी कंगोलियन नागरिक ४९ वर्षीया अपुला इकुत्सुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछ्याउँदै गएको प्रहरी टोलीले ठमेलको एक होटेलमा बसिरहेको अवस्थामा कोकिनसहित पक्राउ गरेको हो । उनका गतिविधिमाथि शंका लागेर खानतलासी गर्दा ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा राखिएका ८५ वटा ¥यापिङ गरिएका क्याप्सुल फेला परेको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बरामद गरिएका क्याप्सुल अभियुक्तले पेटभित्र निलेर ल्याएको खुल्न आएको छ ।

नेपालमा कोकिनको खपत प्रायः शुन्य छ । तर, नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर भारत र भारतहुँदै विश्वका अन्य देशमा कोकिनको कारोबार गर्न विश्वका लागूऔषधका संगठित कारोबारीहरू सक्रिय रहँदै आएका छन् ।

कोकाबाट कोकिन बन्छ । साउथ अफ्रिकी देश मेक्सिको, भेनेजुएला, पेरुमा बनाइएको कोकिन नेपालबाट भारत पुग्ने र त्यहाँ केही मात्रामा खपत हुने र बाँकी युरोपका देशसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाइ छ । कोकिन एक ग्रामकै ३० हजार रुपैयाँ बढी पर्छ । कोकिनका दुव्र्यसनीहरुले एक ग्राम कोकिनलाई ४–५ मात्रा बनाएर सेवन गर्ने गरेको बुझिएको छ ।

गत साउनदेखि हालसम्म ब्युरोले ८ किलो १ सय २६ ग्राम कोकिन बरामद गरिसकेको छ । यसको बजार मूल्य ३० करोड रुपैयाँ बढी पर्छ ।