सुक्खा पहिरोले आरुघाट-लार्के सडक अवरुद्ध

सुक्खा पहिरोले आरुघाट-लार्के सडक अवरुद्ध


उत्तरी गोरखा जोड्ने बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ । आइतबार (१३ जेठ) दिउँसो धार्चे गाउँपालिका-३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएअनुसार पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ, ‘पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ । पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको बताइएको छ ।

पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्नसक्ने अवस्था छ, चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ । पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति भने हुन पाएको छैन ।

पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण भने नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘पहिरो खसेको भन्ने सूचना आएको छ, प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ’, उनले भनेका छन् ।

बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको हो ।

तस्बिर : रासस