भेरिगंगा नगरपालिकामा ३६ लाख ७८ हजार अनियमितता, अख्तियारद्वारा मुद्धा दायर

भेरिगंगा नगरपालिकामा ३६ लाख ७८ हजार अनियमितता, अख्तियारद्वारा मुद्धा दायर


सुर्खेतको भेरीगंगा नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत बबरमहलमा मुद्धा दायर गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेका ठेक्काहरुमध्ये भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खनन् तथा संकलन र विक्री वितरण ठेक्का, छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण गर्ने काममा उक्त रकम हिनामिना भएको आयोगको दावी छ ।

ठेक्का लिने बोलपत्रदाताले समयमा सम्झौता गर्न ईन्कार गरेपनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्नेजस्ता कानून विपरीतका काम गरेर अनियमितता गरिएको हो ।

यो प्रकरणमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, नगरपालिका तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनार दोषी देखिएका छन् । उनीहरु सबैलाई ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँका दरले बिगो माग दावी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ठेक्का लिने न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकालसँग पनि सोहीबमोजिम बिगो माग दावी गरिएको छ ।