कालीगण्डकी करिडोरमा सुक्खा पहिरो : सडक खुल्न एक साता लाग्ने

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो : सडक खुल्न एक साता लाग्ने


सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा पहिरो खसेको हो ।

पहिरोले बागलुङ-गुल्मी खण्डअन्तर्गत मालढुङ्गा-अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताएका छन् ।

‘पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ, पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ’, आयोजनाका इञ्जिनियर अरुण खत्रीको भनाइ छ । पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज (१४ जेठ) बिहानैदेखि काम थालेका छन् ।

बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।