गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्डले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज (१५ जेठ) शुभकामना दिँदै उहाँले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताउनुभयो ।

गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ, ‘अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पुऱ्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।’

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुऱ्याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले गणतन्त्र दिवसले सबैलाई शहीदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । ‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा बधाइसहित शुभकामना व्यक्त गर्दछु’, सन्देशमा उहाँले भन्नुभएको छ ।

रासस