डिआइजीमा पदोन्नति भएका चार वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

डिआइजीमा पदोन्नति भएका चार वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति हुनुभएका चारजना प्रहरी अधिकृतलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति गरिएका चारजना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार (१४ जेठ) आयोजित एक समारोहबीच चारै प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी रहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र सङ्गठनप्रति गरेको योगदान, कार्यक्षमतालगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘राज्य र सङ्गठनले तपार्इंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनी विश्वास लिएको छु ।’