पूर्व प्रदेशप्रमुख डा. अहिराजद्वारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना

पूर्व प्रदेशप्रमुख डा. अहिराजद्वारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना


  • कमल राज पौडेल, बर्दिया

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको बबई बहुमुखी क्याम्पसमा मधेस प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

क्याम्पसमा आयोजित एक समारोहमा डा. अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् ।

निवर्तमान प्रदेश प्रमुख डा. अहिराजले समारोहलाई सम्बोधन गर्दै, बर्दियाका जेहेन्दार विपन्न वर्गका विद्यार्थीलाई यस कोषले पढ्नमा केहि सहज होस् भनी जिल्लाकै सबैभन्दा पुरानो र पहिलो क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरिएको बताए ।

उनले मृत्युपछिको जीवनलाई सार्थक बनाउन मानिसले आफ्नो आय-आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवा मा लगाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सो क्याम्पस का क्याम्पस प्रमुख वीरेन्द्रराज लम्सालले यस क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याज बाट प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गराइने कुरा जानकारी गराए ।

यसअघि डा. अहिराजले सप्तरीको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा कोषको स्थापना गरेका थिए ।

गुलरिया-४ निवासी स्वर्गीय भोजराज बराल र डेउडाकला निवासी तत्कालिन जिल्ला पञ्चायत सभापति सुरेन्द्र चन्द ठकुरीको अथक प्रयासले २०४४ सालमा बबई बहुमुखी क्याम्पसको स्थापना भएको थियो । स्थापनापश्चात बर्दियाका विद्यार्थीहरु उच्च शिक्षाका लागि जिल्लाबाहिर जाने बाध्यात्मक परिस्थितिको अन्त्य भएको हो ।