कैलाश सिरोहिया नौ दिनपछि हाजिरी जमानीमा हिरासतमुक्त

कैलाश सिरोहिया नौ दिनपछि हाजिरी जमानीमा हिरासतमुक्त


नागरिकता कैफियतसम्बन्धी मुद्धाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । धनुषा जिल्ला सरकारी वकिलको कार्यालयको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई नौ दिनपछि बुधबार (१६ जेठ) हाजिरी जमानीमा हिरासतबाट मुक्त गरेको हो ।

मुटुसम्बन्धी समस्या भएको भन्दै सिरोहियालाई उपचारका लागि मंगलबार दिउँसो काठमाडौं ल्याइ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

सिरोहियाले अवैधानिक तवरले नागरिकता हासिल गरेकोले अनुसन्धान र कारवाही गर्नका लागि सर्लाहीका इन्द्रजित महतोले दिएको जाहेरीका आधारमा धनुषा प्रहरीले गत १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो भने अदालतले पक्राउ गर्न अनुमति दिएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको प्रहरी टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।