सम्पत्ति लुट्न विष्णुमायाको हत्या : पाँच जना संलग्न

सम्पत्ति लुट्न विष्णुमायाको हत्या : पाँच जना संलग्न


झापाको बिर्तामोड शिवनगर टोलमा ६७ वर्षीया विष्णुमाया विष्टको हत्या सम्पत्ति लुट्न भएको खुल्न आएको छ । झापा प्रहरी र प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले गत वैशाख २६ गते राति हत्या भएकी विष्टको हत्यामा संलग्नलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

विष्टलाई आफ्नै घरमा टाउकोमा हतियार प्रहार गरी हत्या गरेको घटनामा लुटेराहरुले सुनको गहना तथा नगद लुट्ने उद्देश्यले मात्र हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको झापा प्रहरीका डिएसपी कृष्ण चन्दले बताए ।

यो घटनामा झापाको विर्तामोड-४, शिवनगर टोलका २२ वर्षका गंगाप्रसाद राजवंशी, २३ वर्षका महेश राजवंशी, २१ वर्षका मुनदाश राजवंशी, ३३ वर्षका ज्याक भनिने भगरथ माझी र झापाको अर्जुनधारा-६ का ४३ वर्षका धनबहादुर कामी संलग्न थिए । माझी लुटिएको सुन बेच्न सहयोग गर्ने र कामी त्यस्तो सुन खरिद गर्दै आएका थिए ।

प्रहरीले उनीहरुको साथबाट सुनको बाला, सुनको सिक्का भएको बेरुवा औंठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, सुनका एक जोर टप र चाँदीको कलश बरामद गरेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।