- सुरेन्द्र सुवेदी, काठमाडौं
पछिल्लो समय देशमा लागुऔषधका कारोबारी र प्रयोगकर्तामाथि लागुऔषध नियन्त्रण ब्युरो आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि बैसाखसम्ममा ब्युरोले ५० करोड रुपैयाँबढीका लागुऔषध बरामद गर्दै त्यसमा संलग्न कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
विश्वमै अवैध बजारमा महंगोमा किनबेच हुने कोकिन ब्युरोले नेपालमा ८ किलो ३ सय ग्राम बरामद भयो । यसको बजार मूल्य ३० करोड रुपैयाँभन्दा अधिक हुन्छ । साउथ अफ्रिकी देश मेक्सिको, भेनेजुएला, पेरुमा बनाइएको कोकिन नेपालबाट भारत पुग्ने र त्यहाँ केहीमात्रामा खपत हुने र बाँकी युरोपका देशसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाइ छ । कोकिन एक ग्रामकै ३५ हजार रुपैयाँ बढी पर्छ । कोकिनका दुव्र्यसनीहरुले एक ग्राम कोकिनलाई ४÷५ मात्रा बनाएर सेवन गर्ने गरेको बुझिएको छ । कोकाबाट कोकिन बन्छ ।
यहाँ खैरो हेरोइन ७ किलो ३ सय ग्राम बरामद भएको छ । यसको अबैध बजार मूल्य प्रतिग्राम ८ हजार रुपैयाँ पर्छ । बरामद भएको हेरोइनको मूल्य ५ करोड ८४ लाख रुपैयाँ हुन आउँछ ।
यस्तै गाँजा ६ सय ५२ किलो बरामद भएको ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए । नेपालमा गाँजाको अबैध बजार मूल्य करिव प्रतिकिलो २० हजार रुपैयाँ मानिन्छ । दश महिनामा गाँजामात्र १ करोड ३० लाख रुपैयाँबढीको बरामद गर्न सफल भएको ब्युरो प्रमुख एसएसपपी थपलियाले बताए ।
एलएसडि भनिने स्टिकर १० हजार १ सय ३८ पिस बरामद गर्न प्रहरी सफल भयो । यो प्रतिपिस २ हजार रुपैयाँ दरमा अबैध बजारमा किनबेच हुने गरेको बुझिन्छ । यसको मात्र मूल्य २ करोड रुपैयाँबढी हुन आउँछ । यो नेपालमा यति ठुलो मात्रामा बरामद भएको नै पहिलो हो । ब्युरोका अनुसार ब्यूरो र उसका मातहत शाखाहरु समेतले २१ केजी खात, बुप्रोनर्फिन–डाइजेपाम–फेनारगान ५१ हजार ७ सय ७० एम्पुल, नाईट्रोजन ८४ हजार १ सय ६८ ट्याबलेट, क्यापसुल, कोरेक्स १ हजार ३ सय २९ बोतल र ट्रामाडोल १लाख ३४ हजार २ सय ९१ क्यप्सुल बरामद गरेको छ । जुन तथ्यांक बिगत बर्षको भन्दा धेरै बढी रहेको छ ।
खातको नेपाली अवैध बजारमा कुन मूल्यमा किनबेच हुन्छ, त्यसको जानकारी छैन । विश्वका केही देशमा भने यो खुला रुपमा किनबेच तथा प्रयोग हुने गरेको बुझिएको छ । ब्यूरो कोटेश्वरले लागुऔषध कारोवारमा सम्लग्न ब्यक्ति १ हजार २ सय ४० जनालाई पक्राउ गरी गरेको छ । यसमा ८ सय ७१ मुद्दा दर्ता भएका छन् ।
कोकिन, खात, खैरो हेरोइन, एमफेटामाइनसमेतका लागु औषधहरुको नेपालमा प्रयोग नगन्य छ । अन्तराष्ट्रिय कारोबारीले नेपाललाई ट्रान्जिट प्वइण्ट बनाएर भारत पु¥याउने तथा भारतका कारोबारी र प्रयोगकर्तालाई वितरण गर्दै विश्वका अन्य देशमा पनि लगिने गरिएको पाइन्छ । नेपालमा खपत नहुने लागु पदार्थ नेपालको कमजोर कानुनको फाइदा लिनकै लागि नेपाललाई ट्रान्जिट प्वाइण्ट बनाइएको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया