सहकारी ठगीको आरोपमा पक्राउ परेका सिबी लामा सार्वजनिक

सहकारी ठगीको आरोपमा पक्राउ परेका सिबी लामा सार्वजनिक


सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज (२० जेठ) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको रु एक अर्ब ५१ करोड ठगी गरेको भन्दै आठ सय ५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न अपार्टमेन्टमा बस्दै आएका थिए । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

पक्राउ परेका लामाका साथबाट सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जानकारी दिइएअनुसार लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारीविरुद्ध पनि गत भदौमा ५४ जनाले उजुरी दिएका थिए । उनीविरुद्ध सो सहकारीमा भएको रु १२ करोड रकम हिनामिना गरेको आरोप छ । सो सहकारीको रकम अपचलनका सम्बन्धमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिएका छन् ।