नेपाल-चीन सीमा : २ नम्बर सीमा स्तम्भको अनुगमन

नेपाल-चीन सीमा : २ नम्बर सीमा स्तम्भको अनुगमन


सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका-४ उरइस्थित नाग्नाडाँडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बतबीचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नम्बर २ को अनुगमन गरेको छ ।

सशस्त्र प्रहरी आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज सीमा स्तम्भ भएको स्थानमा पुगेर अनुगमन गरेको सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

समुन्द्र सतहबाट ५ हजार २ सय मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्रको टोली पहिलो पटक त्यहाँ पुगेको हो । टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरेर आइतबार सदरमुकाम फिर्ता भएको छ ।

साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरिमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्रको टोली बीचबीचमा पाल टाँगेर बसेको थियो ।