गाँजालाई वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल

गाँजालाई वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल


गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा नीतिनिर्माता तथा विज्ञहरू लचिलो देखिएका छन् ।

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा शुक्रबार छलफल भएको थियो । उक्त छलफलमा सहभागीहरूले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतीमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भने, ‘गाँजा उत्पादन जताततै छ । मैले बोकेको ब्यागको पनि चर्चा भयो । यसका उत्पादन प्रयोग भइ नै रहेका छन् । यसको प्रयोगबाट कुलतमा फसेका पनि छन् । सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्नुपर्छ । फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ ।’

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजा खेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको उल्लेख गर्दै भने- ‘यससम्बन्धी अध्ययन भइरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ । गाँजा खेतीको सम्भावना छ तर यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ ।’

कृषि मन्त्रालयका सचिव डा. दीपककुमार खरालले गाँजाको व्यवसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागू औषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राखे । ‘कानुनी सहजीकरण नभएसम्म हुँदैन । बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ । खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ’- डा. खरालको भनाइ थियो ।

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसान केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै भने- ‘खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभइ किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ ।’

स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गरे भने मानसिक अस्पतालका डा. अनन्त अधिकारीले गाँजाको औषधीय गुण भएपनि यसले नकारात्मक असरसमेत पार्नसक्नेतर्फ सचेत रहन आग्रह गरे ।

काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा पन्ना थापाको जोड नेपालमा विभिन्न प्रकारका गाँजाहरू पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा थियो । अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने तथा गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुने उनको भनाइ थियो ।

बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो ।