‘प्रचण्ड परिवार आफ्नो कमाइमा केन्द्रीत हुँदा देशलाई क्षति’

‘प्रचण्ड परिवार आफ्नो कमाइमा केन्द्रीत हुँदा देशलाई क्षति’


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राज्यका जिम्मेवार व्यक्तिहरू नै देशको हितभन्दा निजी लाभमा रमाउन थालेपछि मुलुकले कतिसम्म क्षति ब्यहोर्नुपर्ने रहेछ भन्ने कुराको अर्काे एउटा दृष्टान्त फेला परेको छ ।

प्रधानमन्त्री प्रचण्ड, प्रचण्डकी पुत्री गंगा दाहाल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयान प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी र कोरियन एयरका जिएसए कुख्यात सिताराम प्रसाईंका छोरा परासर प्रसाईं राष्ट्र हितप्रति असंवेदनशील भएवापत नेपालले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आएको छ ।

नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा कोरियास्थित नेपाली राजदूतावासले ५० हजार भन्दा बढी कोरियाली नागरिकलाई नेपाल पुऱ्याउने योजनाका साथ काम गरेकोमा नेपाल सरकारको असहयोगका कारण दूतावासको योजना पूरा हुन नसक्ने देखिएको छ ।

नेपाल र कोरियाबीच हवाइ सेवामा कोरियन एयरको एकलौटी अधिपत्य रहँदै आएको छ । र, उक्त एयरलायन्सले मनमाफिक भाडा असुल्दै आएको छ । नेपालमा कोरियाली पर्यटक भित्र्याउने उदेश्यका साथ विभिन्न ट्राभल एजेन्सीहरुमा काउन्सिलिङका लागि पुगेका नेपाली दूतावासका कर्मचारीहरुलाई तपाईंहरुको देश पुग्न हवाइ भाडा धेरै महँगो भएकोले पर्यटकहरुलाई नेपाल जान प्रोत्साहन गर्न नसकिने जवाफ दिएका छन् । उनीहरुको भनाइ छ, ‘कोरियाबाट भारतको नयाँदिल्ली पुग्न ७ सय ५० देखि ८ सय डलरसम्म तिरे पुग्छ, दिल्लीहुँदै सारनाथ, बोधगया पुगेर केही समय नेपालको लुम्बिनी पुग्दा भइहाल्छ, त्यतिका लागि किन सयौं डलर बढी मूल्य चुकाउनु ?’

ज्ञातव्य छ, कोरिया र नेपाल आउन जानका लागि न्युनतम भाडा १ हजार २ सय डलर तय गरिएको छ भने दिल्ली आउन जानका लागि ८ सय डलर भन्दा बढी तिर्नु पर्दैन । गत वर्ष २ हजार २ सय कोरियाली भिक्षुहरु भारत भएर लुम्बिनी आएका थिए । हवाई भाडा महँगोकै कारण उनीहरु कोरियादेखि सोझै नेपाल नआएको बुझिएको छ ।

कोरियाको कानुनअनुसार यदि कुनै देशको वायु सेवा र हवाई सेवा निमायक निकाय (नेपालको हकमा क्यान), युरोपियन युनियन र आइवावको सेफ्टी लिष्टमा छ भने त्यस देशको वायु सेवालाई उडान अनुमतिका लागि नेपाल वायु सेवा र क्यानको सेफ्टी अडिट गर्नु पर्ने हुन्छ । नेपाल वायु सेवाको अडिट गर्ने सन्दर्भमा क्यानको कुनै आपत्ति नभए पनि क्यानकै अडिट गर्ने सन्दर्भमा क्यानले अवरोध पैदा गरेकोले अडिट भएको छैन । त्यसैले नेपाल वायु सेवाले नेपाल-कोरिया उडान भर्न पाएको छैन । क्यानले अनुमति नदिएकोचाहिँ कोरियन एयरलाइन्ससँग मिलेर क्यानका पदाधिकारीदेखि माथि उल्लेखित व्यत्तिहरुले मोटो रकम लिन पाउनु नै हो ।