बलात्कार आरोपित कृष्णदाश गिरीद्वारा गुरु नानक मठ कब्जा !

बलात्कार आरोपित कृष्णदाश गिरीद्वारा गुरु नानक मठ कब्जा !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

बलात्कार आरोपमा २ वर्ष पुर्पक्षका लागि कारागार बसेका कृष्णदाश गिरीले गुरु नानक मठ कब्जा गरेका छन् । २०७२ को भूकम्पपछि बस्न ठाउँ नपाएका बलत्कारी बाबा गिरीलाई गुरुद्वारा गुरु नानक सत्संग समितिले अस्थायी रुपमा बस्न दिएको थियो । तर, अहिले तिनै बाबा गिरीले काठमाडौं महानगरपालिका-१६, म्हेपीमा रहेको नानक मठ र त्यहाँ रहेको ३२ रोपनी जग्गा नै कब्जा गरेका छन् ।

बलात्कारी आरोपित बाबा गिरीलाई कुख्यात क्रसर ब्यवसायीका रुपमा चिनिने नेपाल सरकारका पूर्वसचिव विश्वप्रकाश पण्डितले साथ दिइरहेका छन् । यी पूर्वसचिव पण्डितका कारण गुठी संस्थानका कर्मचारीले पनि बाबा गिरीलाई साथ दिइरहेको पाइन्छ ।

६० वर्षदेखि नानक मठको मर्मत संभारदेखि संरक्षण समितिले गर्दै आएको छ । गिरीले जग्गा र सबै संरचना कब्जा गरेपछि २ रोपनी जग्गा भाडामा लगाएको थियो । केही पूर्वाधार बनाएर मासिक १० हजारमा भाडामा दिएको उक्त जग्गा अघिल्लो स्थानीय तहको पालामा काठमाडौं महानगरपालिकाले भत्काइदिएको थियो । अहिले वडा १६ का जनप्रतिनिधिलाई पनि बाबा गिरीले प्रभावमा पारेर पुनः संरचना बनाउन थालेको बुझिएको छ ।

यो हड्पिएको जग्गामा गिरीले ३ तले भवन नै बनाएका छन् । इपू १५१५ मा जगतजंग मल्लले गुरु नानक यो मठ स्थापना गरेर १ हजार ६ सय रोपनी जग्गा उपलब्ध गराएका थिए । यो जग्गा गुठीको स्वामित्वमा रहेको छ । शोभाभगवति, ज्ञानधारा ज्ञानेश्वर, पशुपति बँगैचा, थापाथली र म्हेपीमा उक्त जग्गा रहेको थियो । अहिले भने सबै मिचेर ३२ रोपनीमात्र बाँकी रहेकोमा त्यसमा पनि कृष्णदाश गिरी र विश्वप्रकाश पण्डितको आँखा लागेको छ ।

नानक मठको संरक्षणका लागि सिख समुदाय आन्दोलनको तयारीमा रहेको बताइएको छ । सरोकारवाला निकायमा जानकारी गराउने र सडकमै निस्किएर आन्दोलनमा होमिने तयारीमा समिति रहेको सत्संग समितिका उपाध्यक्ष एवम् सिइओ रवि सिंहले घटना र विचारलाई बताए ।