लन्डन । हिन्दू धर्मावलम्बीहरुले परापूर्व कालदेखि महत्वका साथ मानाउदै आइरहेको पर्वमध्य महाशिवरात्रीको पनि उत्तिकै महत्व रहेको पाइन्छ । चाडपर्व भनेको देशको अमूल्य सम्पति हुन् जसलाई पुर्ख्यौली प्रशाद्का रुपमा ग्रहण गरी निरन्तरता दिनु र तिनको जगेर्ना गर्दै लैजानु प्रत्यक नागरिकहरुको दायित्व हुन जान्छ । धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेका यस्ता परम्पराहरुलाई आजका नयाँ पुस्ताहरु माझमा पनि परिचित गराउनु जरुरी हुन्छ । यदि यस्तो नगरिएको खण्डमा परसांस्कृतिककरणको हावी हुन गई आफ्नो मौलिकताको लोप हुन् सक्छ । देवताहरुको उत्पतिसँग सम्बन्धित र अत्यन्त श्रद्दा र सम्मानका साथ मनाइने धार्मिक पर्व अन्तर्गत शिवरात्रिपनि एक हो । शिवरात्रि फागुन महिनाको कृष्ण पक्षको चतुर्दशीमा बडो धुमधामका साथ मनाउने गरिन्छ र यसै दिन सर्वप्रथम ज्योतिर्लिन्गको पनि उत्पति भएको थियो । आजकै दिनमा भगवान शिव र पार्वतीको पनि बिबाह भएको थियो भन्ने उल्लेख गरेको पाइन्छ । शिवरात्रिको व्रत लिएको खण्डमा पुण्य प्राप्त हुने कुराको पुराणमा उल्लेख गरेको पाइन्छ । हिन्दू समाजका अनुसार बिशेषगरी चार रात्रिलाई महत्वपूर्ण मान्दै आएको पाइन्छ । भगवान कृष्णजीको प्राकट्य भएको रात्रि महोरात्रि, नवरात्रको समयमा अष्टमी र नवमी बीचको रात्री कालरात्रि, लक्ष्मी पूजाको रात्रि सुखरात्रि र भगवान शिवजीको जन्मको रात्रि शिवरात्रि हुन् । यिनै बिबिध कारणले गर्दा पनि यी रात्रिहरुको महिमा ब्यापक हुन गएको हो । पशुपतिनाथलाई आराध्य देवको रुपमा मान्ने गरिन्छ ।
नेपाल उपत्यकाको इतिहासमा यिनको पनि इतिहास जोडिएको छ भन्ने भनाइ रहेकोछ । कतिपय प्राचीन ग्रन्थहरुमा नेपाललाई पाशुपत क्षेत्र भनि नामाकरणसमेत गरेको पाइन्छ । यिनै पशुपतिनाथको प्रादुर्भाव भएको दिन फाल्गुन कृष्ण चतुर्दशीको दिनलाई मानिन्छ । शिवरात्रिको दिन हिन्दू महिलाहरु फलाहार मात्र खाएर शिवलिंगको पूजा गर्ने गर्दछन् । लिङ्ग पूजा गर्दा शिवरात्रिको प्रथम प्रहरमा दुधले, द्वितीय प्रहरमा दहीले, तृतीय प्रहरमा घिउले र चतुर्थ प्रहरमा महले स्नान गराउने चलन छ । उक्त दिन स्नान गरी शुद्द मनले निराहार ब्रत बसी महादेवको दर्शन गरेमा सबै कार्य सिद्द हुन्छ भन्ने मान्यता रहँदै आएकोछ ।
अबिबाहित महिलाले अशल पति र बिबाहित महिलाले आफ्नो पतिको दिर्घायू र सु(स्वास्थ्यको कामना गर्दछन् । महाशिवरात्रिसँग जोडिएको एउटा किम्बदन्ती पनि प्रचलनमा रहेको पाइन्छ । एकपटक फागुन कृष्ण त्रयोदशीका दिन एउटा शिकारी शिकारको खोजीमा जंगल पसेछ । जंगलमा हरिणी देखेछ र उसले धनुष उठाई ताकेछ, अनि हरिणीले भनिछ, मलाई मार्ने हो भने आज नमार, भोलि मात्र मार, यतिबेला मेरा बच्चाहरु भोकले मर्न लागेका छन्, म तिनिहरुको लागि आहारा बन्दोबस्त गरी फर्किनेछु मबाट कुनै पनि बैमानी हुनेछैन भनेपछि शिकारीले छाडिदियो । तर शिकारीले अर्को शिकार पनि भेटाउन नसकेको कारणले रातभरि सोही जंगलमा बसी रात बिताएछ । संयोगबस त्यहिनिर बेलको रुख रहेछ र रुखको फेदमा शिवलिङ्ग थियो । जाडोमा भोकले रन्थनिएको शिकारीले स्यु स्यु गर्दै अन्जानमै बेलपत्र टिप्दै तल खासलेछ र बेलपत्रले शिवलिङ्गलाई पूरै ढाकेछ । जाडोले स्यु स्यु गर्दा शिवनामको पनि उच्चारण भएकोले शिवजी प्रकट भई इच्छा लागेको बर माग भन्दा उक्त शिकारीले मोक्ष पाउँ भनी वर माग्यो । अनि तिम्रो इच्छा पूरा हुनेछ भन्दै शिवजी अन्तर्ध्यान हुनुभयो । बिहान हरिणी हाजिर भई तर शिकारीको मन परिवर्तन भइसकेकोले उसले मारेन । किनकि शिकारीले महादेवको दर्शन र कृपा प्राप्त गरी पापबाट मुक्त भइसकेको थियो साथै उसले शिकारी प्रबृती पनि त्यागिसकेको थियो । तसर्थ शिवरात्रिको महत्व बढ्दै गएको भन्ने परम्परा रहेको पाइन्छ ।
यसरी हेर्दा धर्म र संस्कारको सबैको आ-आफ्नै तरिकाहरु हुने गर्दछ । महशिवरात्रिका दिन पशुपतिनाथमा हिन्दू भक्तजनहरुको घुइंचो लाग्ने गर्दछ । दर्शनको लागि भारतदेखि पनि हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । नेपालमा मात्र नभएर हिजोआज विदेशतिर पनि आफ्ना चाडपर्व र परम्परालाई महत्वका साथ् अवलम्बन गर्दै आएको पाइन्छ । बेलायतमा पनि महाशिवरात्रीका दिन साउथहलस्थित राम मन्दिरमा बर्षेनी नेपालीहरुको घुइंचो लाग्ने गर्दछ । यसपटक पनि हिन्दू महासंघ यूके ले सन् २०१५ फेब्रुअरी १७ तारेखका दिन साउथहल लण्डनको राम मन्दिरमा दिनको एक बजेबाट पूजा कार्यक्रम गर्ने भएको छ र उक्त कार्यक्रममा सम्पूर्ण इच्छुक ब्यक्तिहरुलाई उपस्थितिको लागि अनुरोध गरेकोछ । बिस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
[youtube]https://www.youtube.com/watch?v=ZgdjDiXOcvk[/youtube]
प्रतिक्रिया