कामरेड प्रचण्ड ज्यू, यो परदेशीको तर्फबाट लालसलाम
परदेशी भन्ने बित्तिकै तपाइंलाई डलर र पाउन्डको झझल्को आउला तर मचाहिं तपाईंहरु जस्ता राष्ट्रिय नेताहरुले गर्दा बाध्य भएर डलर र पाउन्डको सपना बोकेर बिदेशीको दाश बन्न बाध्य लाखौ नेपाली यूवा मध्य एक ब्यक्ति हुँ । भनिन्छ पृथ्वी गोलो छ तेसैले त घुम्दै फिर्दै तेही ठाउँमा पुगिन्छ, शायद तेसैले होला तपाईं पनि बेलाबेलामा भाषण गर्दै भन्ने गर्नुहुन्छ फेरि हामी जंगल पस्नु नपरोस ।
केहि दिनअघि मात्र अब फर्किन्छु कि फर्किन्न भन्दै काठमाडौँबाट बाटो लाग्नु भएको भन्ने पत्रपत्रिकामार्फत पढ्न पायेंको थिए, के कतिसम्म सहि हो ? हुन सक्छ त्यो त तपाइंको घुर्की मात्र होला नत्र भने यस्तो मस्ती आरामको जिबन बिताएर नाम र दाम कमाएर बस्नु भएको तपाइंको त्यो प्रचण्ड मानव एक रात मात्र पनि पहिलाको जस्तै जंगलमा गएर गुजारा गर्न सक्ला र ? पक्कै पनि सम्भव छैन ।
रातभरी निन्द्रा लाग्ने छैन, भोक तिर्खा सबै हराउनेछन एक मिनेटमा ६० सेकेन्ड हुन्छ त्यो ६० सेकेन्डमा तपाईंको दिमागमा ६०० वटा कुराहरु खेल्न थाल्छन छटपटी चल्छ, उकुसमुकुस हुन्छ फलस्वरूप भोलिपल्टै लाज पचाएर लुरु लुरु फर्किनुपर्छ । हुन त लाज पचाउने भन्ने तपाइंको लागि त कुनै ठुलो कुरो होइन । शुतुर्मुर्गा भन्ने पन्छी जुन मरुभूमिमा पाइन्छ, तेस्ले कुनै खतराको संकेत पायो र आफूलाई शुरक्षित राख्नु पर्यो भने आफ्नो टाउकोलाई बालुवा भित्र लुकाउँछ र उसले ठान्छ कि म सुरक्षित छु तेस्तै तपाईं पनि शुतुर्मुर्ग जत्तिको बुद्दिमानी भने पक्कै हुनुहुन्छ । भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ रे तेस्तै तपाईं पनि देश र जनताको खुन चुसेर आफू टन्न हुदैमा सह्रा देशका जनताहरु पनि टन्न भएको देख्ने तपाइँको आँखा पनि भदौको साँढेको भन्दा कम छैन ।
पन्ध्र हजार भन्दा बढी नेपाली जनताहरुको बली पिएर हजारौको संख्यालाई घाइते बनाउदा पनि एकरति दयामाया नपलाउने तपाईं हरुको निर्दयीपनलाई शुद्दिकरण गर्नको लागि सात पुस्तासम्म प्रायश्चीत गर्नुपर्ने हुन्छ । देशलाई तेस्तो रणभूमि बनाउदा बनाउदै पनि नेपाली जनताहरुले बिश्वास गरेर केहि गर्नु होला भनि सम्पूर्ण कुरा बिर्सिएर सत्ता सम्हाल्ने जिम्मेवारी समेत प्रदान गरे । तर त्यहाँ गएर आफू आफूमै तानातान हानाहान र लुछाचूँडी गर्नु बाहेक केहि गर्न नसक्नुले पानी माथिको ओभानो बन्न खोजेको चरित्र छर्लंग हुन्छ ।
अझै पनि जनता सामू जान्छु र जंगल पस्छु भन्ने धम्कि दिएर तर्साउन नखोज्नु होला, धम्कीको भरमा देशलाइ बलात्कार गरेर इमान्दारिताको प्रदर्शन गर्न बन्द गर्नुहोस । जनताको नाममा धाक लाउनु भन्दा अगाडी सोच्नुहोस् कि संबिधान सभाको चुनाव अघि तपाईं का अघिपछि कति जनताको मारामार लाम लागेको थियो तर चुनावको भोट गन्दा बिचमै कुलेलाम ठोक्नुपरेको थियो ।
अब पनि जंगल पस्नुभयो भने तिनै जनताले तपाईंको शिकार खेल्नेछन । जनता भनेको सम्पूर्ण रास्ट्रका हुन्, तपाइंको मात्र पेवा हुन् भन्ने सपना देख्न बन्द गर्नुहोस एकपटक तपाईंलाई चिन्ने प्रयत्न गरे अब तपाईंको आन्द्रा भूँडी केलाइसकेका छन् ति जनताहरुले, अब पुन जनाप्रिय हुनको लागि तपाईं हरुले निकै ठुलो संघर्ष र चुनौतिको सामना गर्नुपर्ने हुन्छ जुन संघर्ष गर्नलाई बर्षौ सम्म जनताको घरदैलोमा पुग्नुपर्दछ र उनीहरुको मन जित्न सक्नुपर्छ जुन कुरा फलामको च्यूरा चपाउनु सरह हुनेछ । तर अहिलेकै जस्तै तोडफोड र नाराबाजिमात्र गर्ने हो भने तपाईंहरु भविष्यमा केवल इतिहाँसको पानामा मात्र पूजियर बस्नु सिबाय अन्य बिकल्प नरहला ।
कमरेड प्रचण्ड ज्यू, हुन त म तपाईं को पार्टी बिरोधि भने सोर्है आना होइन, जसले देश र जनता प्रति दीर्घकालीन रुपमा इमान्दारिता ब्यक्त गर्दछ, निश्वार्थ सेवाको भावनाले अगाडी बढ्दछ भने उनीहरु प्रति मेरो सधैं सम्मान र सहयोग रहनेछ । क्षेणिक स्वार्थ र व्यक्तिगत अनि सिमित क्षेत्रलाई समेट्ने आफ्नो अडानलाई राष्ट्र र समाजको हितको पक्ष्यमा परिवर्तन गराउनुस । बिरोध जनाउने दानवीय प्रक्रियालाई मानबिय प्रक्रियामा रुपान्तर गर्नुहोस । देशको आर्थिक, राजनैतिक र सामाजिक अवस्थाको चपेटामा परेर बाध्य भएर बेदेशी भूमिमा बसेको बर्षौ भैसकेकोछ ।
देशको अवस्था सुध्रिएला र आफ्नै देशमा अनि आफ्नै परिवारसंग दुख सुख जिबन बिताउला भनेर प्रतिक्ष्या गर्दा गर्दै ६० बर्षीय आमा बलात्कारको शिकार बन्नुपर्यो, बाबाको जनान्दोलनमा मृत्यू भयो छोरालाई अपहरणकारीले हत्या गरे, श्रीमतीको केवल क्षेत् बिक्षेत लाश मात्र फेला पर्यो भने दाइको त अझै अत्तोपतो छैन । यो त म एउटा व्यक्तिको पिडा हो कामरेड ज्यू , यदि यस्तै घटना तपाइंको परिवारमा आमा बाबु छोराछोरी र श्रीमतीमाथि भएको खण्डमा तपाईं को अवस्था कस्तो हुनेछ एकपटक मनन गर्नुस त ।
जनता, जनता भनेर चिच्याउन धेरै सजिलो छ तर जनताको ब्यथालाई आफ्नो ब्यथा सम्झेर प्रायश्चीत गर्न कहिल्यै सम्झिनु भयो ? छैन, तेसैले स्वार्थ पूर्तिको लागि मात्र होइन देश र राष्ट्रको भविष्यलाइ समेत मध्यनजर गर्दै सबैलाई समेट्ने प्रयाश गर्नुस, अन्यथा अकालमा ज्यान गुमाउने हजारौको रगतले तपाईंका शाखा सन्तानलाई पोल्नेछ ,घाइतेहरुका आँशुले पिरोल्नेछ, टुहुरा बालबच्चाहरुको श्राप लाग्नेछ र म जस्ता बिदेशी भूमिमा पसिना बगाउनेहरुका पसिनाले तपाईंलाइ एकदिन अवश्य आशुको धारा बगाउन बाध्य तुल्याउनेछ । बिदेशमा बसेर पनि आफ्नो देश प्रति कति सम्म माया र ममता हुदोरहेछ भन्ने कुरा पनि तपाईंले यसै पत्रबाट बुझ्न जरुरि छ र बिदेशमा बस्नेहरुका लागि पनि आवाज उठाउनुपर्छ भन्ने सोचको विकास हुनेछ भन्ने मैले आशा एबँम भरोसा राखेको छु ।
अन्तमा यो परदेशी मन भित्रका भावनाहरुले तपाईं माथि कुनै किसिमको ठेस पुग्न गएमा क्षेमा चाहन्छु र आशा छ म जस्ता लाखौँ परदेशी हरुको सपना छिट्टै पूरा हुनेछ,देशले शान्तिको साश फेरेको अनुभुती हामीले गर्ने पाउनेछौं ।
मिति – ५ फेब्रोवरी २०१५
[youtube]https://www.youtube.com/watch?v=NQ7Q9yYMCMM[/youtube]
प्रतिक्रिया