गैँडाको खाग खरिद-बिक्रीको अभियोगमा मुद्दा दायर

गैँडाको खाग खरिद-बिक्रीको अभियोगमा मुद्दा दायर


चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज (१० असार) चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका-२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका-३ सुन्दर बस्ती बस्ने ३३ वर्षीय बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका-८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परीयार, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल-११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् ।

बाग्लुङको जैमिनी नगरपालिका-७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका-१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका-९ घर भई हाल बुटवल-४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गत वैशाख २८ गते भरतपुर-९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा निजहरु पक्राउ परेका थिए । सो क्रममा मुद्दा दायर भएकाहरुमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खागजस्तो बस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा निजहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।

तिवारीका अनुसार प्रतिवादीहरुमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । निजले रु ५० हजार जरिवाना तिरेर ६ वर्षअघि छुटेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो ।