क्रसर व्यवसायी आन्दोलित : कर लिने नवीकरण नगर्ने लाचार सरकार !

क्रसर व्यवसायी आन्दोलित : कर लिने नवीकरण नगर्ने लाचार सरकार !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मुलुकमा २०७२ सालदेखि सञ्चालनमा रहेका भएका क्रसर उद्योगहरू सरकारले नवीकरण गरेको छैन । उद्योगहरू नवीकरण नगरेपनि कर भने असुल्दै आएको छ । समिति गठन गरेर उचित मापदण्ड बनाउन, अव्यवहारिक मापदण्ड खारेज गर्न, कानुनसम्मत दर्ता भएका उद्योगलाई नवीकरण गर्नसमेतका माग राखेर क्रसर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

राजधानीको माइतीघर मण्डलामा यही असार १ गतेबाट धर्ना सुरु गरेका उनीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले घटना र विचारलाई बताए । देशमा अहिले १ हजार २ सय ८१ क्रसर उद्योग छन् । तीमध्ये ५ सय महासंघमा आवद्ध छन् । सरकारबाटै अवैध भनिएका ७ सय ८१ उद्योगलाई नेता, प्रहरी, कर्मचारीसमेतले ‘भेटी’ लिएर चलाउन दिएका छन् ।

उद्योगीहरूले पछिल्लो मापदण्ड लागू हुनुभन्दा अगाडि दर्ता भएका क्रसरलाई नवीकरण गरेर चलाउने माग जायज भएको अध्यक्ष न्यौपानेको भनाइ छ । २०४० सालदेखि २०७० सम्म ७ सय क्रसर उद्योग दर्ता भएका थिए । २०७२ मा नयाँ मापदण्ड ल्याएपछि नयाँ दर्ता र पुरानालाई नवीकरण पनि गरिएको छैन । उद्योग मन्त्रालयमा दर्ता भएका यी क्रसर उद्योगले आन्तरिक राजश्व कार्यालयमा वर्षेनि कर भने तिर्दै आएका छन् ।

नेपालबाट वर्षमा अर्बाैं घनमिटर रोडा, ढुंगा, बालुवा बगेर जाने गरेको छ । त्यसलाई नीति बनाएर विदेश निकाशी गर्न सकेको खण्डमा अर्बाैं रकम देश भित्रने भन्दै त्यसतर्फ पनि सरकारले ध्यान नदिएको क्रसर व्यवसायीहरुको भनाइ छ । ‘एक वर्षमा १० खर्बबढीको रोडा, गिटी, ढुंगा, बालुवा निकाशी गर्न सकिन्छ, सरकारलाई करमात्र ४ अर्ब रुपैयाँ प्राप्त हुन्छ, यसतर्फ नीति निर्माणको तहमा बसेका नेताले नबुझ्दा अर्बौं रकम खेर गइरहेको छ’- एक क्रसर उद्यमीले भने ।

‘क्रसरहरु कस्तो स्थानमा राख्ने ?’ यसको कुनै मापदण्ड बनाउन सरकारले सकेको छैन । केन्द्रमा बसेर हचुवाको भरमा नीति बनाउने चलनले सधैं समस्या भइरहेका छ ।

एक पटक नेपालबाट गिटी र ढुंगा भारत निकासी खुला हुँदा १ लाख जनाले रोजगार पाएको र १० हजार ट्रकहरुले काम पाएका थिए । त्यो बेला खाडीका देशमा यहाँको गिटी पुगेको थियो । ‘अहिले गिटी र ढुंगा एक्सपोर्ट गर्न रोकिँदा देशमा भित्रने वैदेशिक मुद्रा ल्याउन सकिएन भने रोजगारी पनि भएन । नेपालमा ढुंगाको मौजाद अधिक भएकोले यो कहिले पनि सकिन्न, सदुपयोग नभएको ढुंगा कुटेर विदेश निकाशी गर्नु हो भने वर्षेनी खर्बाैं रकम नेपाल भित्र्याउन सकिन्छ, त्यसतर्फ नीति निर्माताको ध्यान जानु आवश्यक छ’- क्रसर व्यवसायी उद्धवप्रसाद भण्डारीको भनाइ छ ।

जानकारहरुका अनुसार अहिले भुटानले बङ्गलादेशसमेतका देशमा गिटी, ढुंगा निकाशी गरेर अर्बाैं रकम भित्र्याउने गरेको र त्यो गिटी, रोडा, ढुुंगा नेपालबाट भुटान पुग्ने गरेको क्रसर व्यवसायीहरुको भनाइ छ ।