समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको दाबी

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको दाबी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका छन् ।

नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको आगामी आवको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले समग्र वित्तीय र मौद्रिक स्थायित्व कायम गर्नेगरी आगामी साउन दोस्रो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्- ‘देशको अर्थतन्त्रलाई हित हुनेगरी साउनको पहिलो वा दोस्रो सातामा मौद्रिक नीति आउँछ । सबै क्षेत्रबाट आएका सकारात्मक सुझाव समेटेर समग्र वित्तीय स्थायित्व कायम हुनेगरी मौद्रिक नीति ल्याउँछौँ ।’

कोभिड-१९ महामारी र रुस-युक्रेन तनावका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको र नेपालमा पनि बाह्य क्षेत्र सन्तुलन बिग्रिँदा कडा खालको मौद्रिक नीति जारी गर्नुपरेको गभर्नर अधिकारीको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९/८० को अन्तिम त्रैमास र चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआतबाटै मौद्रिक नीतिका व्यवस्था लचिलो बनाउँदै लगिएको उल्लेख गर्नुहुँदै उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि त्यसलाई निरन्तरता दिइने बताए । अहिले मुलुकको अर्थतन्त्र सबल अवस्थामा पुगिसकेको भए पनि सुधारले अपेक्षित गति भने लिन नसकेको उनले उल्लेख गरे ।

‘समानरुपले सुधार गर्न नसकेको यथार्थ हो, तर हामी सुधारोन्मुख छौँ । ठूलो जनसङ्ख्या देश बाहिर रहेपछि आन्तरिक माग र खपत घटेको छ । निर्माण क्षेत्रमा देखिएको शिथिलताले बहुआयामिक असर देखाएको छ’, गभर्नर अधिकारीले भने ।

कार्यक्रममा सहभागी विभिन्न वस्तुगत तथा क्षेत्रगत संस्थाका प्रतिनिधिले कर्जा विस्तारमा सहज नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिए । कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण, घरजग्गा कर्जा तथा शेयर कर्जालाई केही खुकुलो बनाउनुपर्ने, पर्यटन व्यवसायलाई कर्जामा सहजीकरण गरिनुपर्नेलगायत सुझाव विभिन्न क्षेत्रबाट आएका थिए ।