एसिडी मन्त्रिस्तरीय बैठकमा नेपालको उपस्थिति उपलब्धिपूर्ण भएको उपप्रधानमन्त्री श्रेष्ठको दाबी

एसिडी मन्त्रिस्तरीय बैठकमा नेपालको उपस्थिति उपलब्धिपूर्ण भएको उपप्रधानमन्त्री श्रेष्ठको दाबी


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानको तेहरानमा सम्पन्न एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीस्तरीय १९औँ बैठकमा नेपालको उपस्थिति उपलब्धिपूर्ण भएको बताउनुभएको छ।

बैठकमा भाग लिई आज (११ असार) स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बैठकमा सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रुपमा नेपालको सकारात्मक छवि प्रवद्र्धन गर्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले सदस्य मुलुकहरू बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन र वर्तमान परिप्रेक्ष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखापरेका जलवायु परिवर्तन, द्वन्द्व, ऊर्जा, सुरक्षा, प्राकृतिक प्रकोप, सङ्गठित अपराधजस्ता चुनौतीहरुको सामूहिकरुपमा सामना गर्नका लागि बैठकले महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो ।

बहुपक्षीय एवं क्षेत्रीय कूटनीतिमार्फत राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने नेपालको विदेश नीतिका उद्देश्यअनुरुप नेपाल ३४ औँ सदस्य राष्ट्रका रुपमा सन् २०१६ सो सङ्गठनमा आबद्ध भएको थियो । त्यसयता नेपालले पारस्परिक लाभका विभिन्न क्षेत्रमा सहकार्य र संवादको मर्मलाई आत्मसात् गर्दै निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको श्रेष्ठको भनाइ छ ।

“आगामी अक्टोबरमा कतारमा आयोजना हुने शिखर सम्मेलनको तयारी र सङ्गठनको सचिवालय सुदृढीकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्नेलगायत विषयमा छलफल गर्न बैठकको आयोजना भएको हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभभयो,“उक्त बैठकबाट निर्णय भएका प्रमुख विषयहरू र सङ्गठनको भावी कार्यदिशा उल्लेख गरिएको तेहरान घोषणापत्र जारी भएको छ । मन्त्रिस्तरीय बैठकअघि सदस्य मुलुकका वरिष्ठ पदाधिकारीको बैठक आयोजना भएको थियो ।”

बैठकले ‘एसिडी ब्लुप्रिन्ट सन् २०२१-३०’, ‘एसिडी भिजन फर एसिया कोअपरेशन सन् २०३०’ र यसअघिका शिखर सम्मेलनलगायत बैठकहरूमा भएका समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरूबीच आपसी सहयोग, सहकार्य एवं ऐक्यबद्धतामा जोड दिएको छ । परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार बैठकबाट सङ्गठनको संस्थागत विकास र सचिवालयको सुदृढीकरणसँग सम्बन्धित एसिडी निर्देशिका पारित, एसिडीको नयाँ महासचिव र उपमहासचिवको रुपमा क्रमशः कुवेत र इरान सरकारको तर्फबाट मनोनीत उम्मेदवारको सम्बन्धमा सदस्य राष्ट्रहरुको सहमतिको लागि सिफारिस गरेको र दुई हप्ताभित्र कुनै सदस्य राष्ट्रको असहमति प्राप्त नभएमा उक्त सिफारिस अनुमोदन भएको मानिने निर्णय भएको छ ।

उहाँले एसिडीको वर्तमान अध्यक्ष राष्ट्र इरानले संगठनको प्रक्रिया, गतिविधि र भूमिका अभिवृद्धिमा पु¥याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै बैठकले सन् २०२५ को लागि थाइल्याण्डलाई नयाँ अध्यक्ष राष्ट्रका रुपमा स्वागत गरेको जानकारी दिनुभयो ।

एसियाली मुलुकहरुबीच एसिडीको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्यअनुरुप प्रत्येक वर्ष जुन महिनामा ‘एसिडी डे’ मनाउने बैठकपछि जारी तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रीय अन्तर आबद्धता अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्नेलगायतका विषयहरू घोषणापत्रमा समेटिएका छन् ।

गाजा क्षेत्रमा उत्पन्न मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गर्दै गैरकानुनीरुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशीघ्र र बिनाशर्त रिहाइ गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्घारलाई बढावा दिन, विवादको दिगो र शान्तिपूर्ण समाधानका लागि पहल गर्नसमेत उक्त घोषणापत्रमार्फत अपिल गरिएको छ ।

बैठकले एसियाली विश्वविद्यालयहरुबीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुबीच सहकार्यका लागि आवश्यक कार्ययोजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकाससम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री, बहराइनका विदेशमन्त्री, कुवेतका विदेशमन्त्री, साउदी अरबका उपविदेशमन्त्री र रुसी महासङ्घका उपविदेशमन्त्रीसँग द्विपक्षीय भेटघाट गरी आपसी सहकार्य र हितका विविध विषय तथा क्षेत्रीय एवं वैश्विक मुद्दाहरुमा समेत छलफल भएको जानकारी दिनुभयो ।

इरानको तेहरानमा यही असार १० (तदानुसार २४ जुन २०२४) गते सम्पन्न बैठकमासहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ यही असार ८ गते त्यहाँ प्रस्थान गर्नुभएको थियो ।

rss