उपप्रमुख सुनिता डंगोल भन्छिन्- ‘काठमाडौंमा मानव बसोबास सुरु भएदेखि नै काठमाडौं र ल्हासाबीच सम्बन्ध’
विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिङकुनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले सो जानकारी गराएकी हुन् ।
‘काठमाडौं र ल्हासाबीच अनौपचारिक सम्बन्ध काठमाडौंमा मानव बसोबास सुरु भएदेखिको हो । यहाँका आदिवासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे’- उनले भनिन्, ‘कोविड १९ को महामारीले आफैं संकटमा परेका बेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो । यसरी दुई नगरबिचको सम्बन्धको लाभ महानगरबासी स्तरमा पुगेको छ ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे । ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । यसले ल्हासाको समृद्धि दर्शाउँछ । हामीले यो उखान जत्तिकै समृद्ध भएको महसुस गरेका छौँ’, उनको भनाइ थियो ।
ल्हासा र काठमाडौंको समन्ध इतिहास कालदेखिकै हो । भेटका क्रममा ल्हासा नगरका अन्तरराष्ट्रिय मामिला प्रमुखले भने, ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उनले, दुई नगरबिच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे । भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमाडौंको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । यस्तै १० पटक काठमाडौँको भ्रमण भएको छ । काठमाडौँ महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् ।
यस पटकको भ्रमण प्रतिनिधि मण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ । यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ ।
प्रतिक्रिया