पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार


यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरमा रहेको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले बुधबार (आज) राजधानीमा पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै, उनको व्यक्तित्वलाई सम्मान गर्न र विचार तथा मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरणलगायतका क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था र व्यक्तित्वहरूलाई प्रत्येक वर्ष पुरस्कार दिने गरेको छ । यस्तो पुरस्कार फाउण्डेशनले २०६८ सालदेखि दिन थालेको फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०४१ सालदेखि नेपालमा चिया प्रवर्द्धनमा कृयाशील अनुसन्धान केन्द्रले अर्ग्यानिक चिया उत्पादन गर्दै स्वदेश र विदेशमा विक्री गर्दै आएको छ । स्थानीय कच्चापदार्थको प्रयोगलाई मुख्य आधार मान्दै प्रांगारिक चिया खेतीका माध्यमबाट रोजगारी सिर्जना, स्थानीय बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याएको मदन भण्डारी फाउण्डेसनको ठहर छ । ९५ हेक्टर जमिनमा फैलिएको ६ लाखभन्दा बढी चियाका विरुवा रोपण गरिएको यो बगानलाई नयाँ र नवीन आयुर्वेदिक/जैविक खेती प्रविधिमार्फत १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राकृतिक मसलाहरुसहित बार्षिक रुपमा १ सय टनभन्दा बढी चिया उत्पादन गर्दै आएको छ ।

यहाँ उत्पादन भएको चिया स्वदेश एवं जापान, जर्मनी, क्यानडा, अष्ट्रेलिया, कोरिया, युक्रेन, संयुक्त राज्य अमेरिका, पोल्याण्ड, नेदरल्याण्ड, फिनल्याण्ड, चीन र भारत लगायतका देशहरुमा समेत उत्पादन निर्यात गरेर वार्षिक ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।

केन्द्रले १ सय ५० भन्दा बढी किसानलाई प्रत्यक्ष र ४ सय जनालाई अप्रत्यक्ष रूपमा रोजगारी, कामदारका छोराछोरीलाई छात्रवृत्ति, इको-हाउस परियोजना, गाई बैंक परियोजना, किसान सहकारी पसल, सामुदायिक विकास निर्माणजस्ता कायमार्फत कर्पोरेट सामाजिक उत्तरदायित्वमा पनि योगदान पुर्‍याएको फाण्डेसनका अध्यक्ष पाण्डेले जानकारी दिए ।

‘समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रणेता, सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाका प्रवल पक्षधर नेपाली जनताका नेता मदनकुमार भण्डारीका राजनैतिक योगदान, सोच, विचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उनले दिएका योगदानसमेतको अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले २०५६ सालमा फाउण्डेसन स्थापना भएको हो’- पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले भने ।

फाउण्डेसनले पुरस्कार वितरण गर्न आवेदनहरु माग गरेको र पुरस्कृत गर्न गठित विज्ञहरुको स्वतन्त्र छनौट समितिले गरेको छलफल, विश्लेषण एवं सिफारिश र फाउन्डेशनको केन्द्रीय सचिवालयले गरेको निर्णयका आधारमा केन्द्र छनोट भएको हो ।

यही असार १४ गते जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा १ लाख रुपैयाँ नगदसहितको सम्मान-पत्र केन्द्रलाई प्रदान गरिनेछ ।