नेपाली सेना : हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम

नेपाली सेना : हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम


नेपाली सैनिक वार कलेजमा २०८० फाल्गुण १८ गतेबाट सञ्चालन भएको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन भएको छ ।

समापन कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले राष्ट्रको भू-रणनैतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढङ्गबाट सम्पन्न गर्नको लागि उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान, सीप र मनोवृत्तिको विकास गर्न यस तालिमको महत्वपूर्ण भूमिका रहेको बताए ।

सम्बोधनकै क्रममा प्रधान सेनापतिले संस्थाको बृहत्तर हितका अगाडि व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यताअनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन दिए । त्यसै गरी प्रधान सेनापतिले भविष्यमा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरी सङ्गठनको व्यावसायिक क्षमता र विश्वव्यापी छविलाई कायम राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न/गराउन शिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी जम्मा ३५ जना (महिला-३ र पुरुष-३२) महासेनानी दर्जाका शिक्षार्थीहरूको यस तालिममा सहभागिता रहेको थियो । महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम हुनुका साथै उनले बेष्ट एकेडेमिक राइटिङ अवार्डसमेत प्राप्त गरेका छन् । त्यस्तै गरी महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्र इण्डिभिजुअल रिसर्च पेपरमा प्रथम भए ।