सबै दल, नेता तथा कार्यकर्तासम्मलाई पटक-पटक दिएको धोकाका घटनाले प्रचण्ड आफैं नेपाली राजनीतिबाट किनारा लाग्ने अवस्था सिर्जना भएकोमा अब तर्क-वितर्क वा विवाद गरिरहनु नपर्ला ।
✍ सुरेन्द्र सुवेदी

नेपालको राजनीतिमा ‘धोकेबाज’ विशेषण जोडिएरसमेत चिनिन थालिनुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अबको राजनीतिक यात्रा सुखद रहन नसक्ने देखिएको छ ।
जनयुद्धको बहानामा १७ हजार नेपालीको ज्यान जाने हिंसा गर्नु, जनयुद्धको नाममा कार्यकर्ता, मतदातासमेत नेपाली जनतालाई बाँडेका आश्वासन पूरा नगरी परिवारवादमा सीमित हुनु, लडाकु शिविरमा राज्यबाट प्राप्त रकममा ठूलो घोटाला हुनु र परिवार तथा नातागोताले अत्यन्त विलासी जीवन बिताउन थाल्नुजस्ता गतिविधिले उहाँको राजनीतिक साख यसैपनि दिनदिनै घट्दो थियो ।
माओवादी सहभागी भएको पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्दा पनि जनचाहनाअनुसार काम नगरेपछि माओवादीको मत घट्दो थियो । पछिल्लो संसदीय निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनमा मिलेर निर्वाचनमा होमिए पनि ३२ सिटमात्र जित्नु अर्थात् ११ प्रतिशत मतमा सीमित हुनुले माओवादीप्रति जनताको आकर्षण दिनानुदिन घटेको नै प्रमाणित हुन्छ ।
माओवादी खुला राजनीतिमा आएपछि उनका सारथी, साथी तथा कार्यकर्ताहरू दैनिक रुपमा पलायन हुनुले उहाँको कार्यशैलीप्रति असन्तुष्टि ब्यापक थियो भन्न सकिन्छ । मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सिपी गजुरेलजस्ता पार्टीका हस्तीहरूलाई पार्टीमा राख्न नसक्नुभएका प्रचण्डले धोका नदिएका व्यक्ति सायद कमै होलान् । उहाँले पालैपालो नेपाली राजनीतिमा नेपाली काङ्ग्रेस, नेकपा एमालेलाई प्रयोग गर्दै आउनुभयो । फलतः अहिले उहाँ करिव-करिव एक्लो हुन पुग्नुभएको छ ।
गत वर्षको पुष १० मा नेपाली काङ्ग्रेसलाई धोका दिएर एमालेसित मिल्न पुग्नुभएका प्रचण्डले एमालेसित दुई महिनामात्र बस्न रुचाउनुभयो । त्यसपछि केपी ओलीलाई धोका दिएर पुनः काङ्ग्रेसतर्फ नै मिल्न जानुभयो । गत वर्ष फागुन २० मा फेरि कांग्रेसलाई ‘लात’ हानेर एमालेसितै मिल्न आउनुभयो । प्रचण्डका यस्ता धोका र ‘उछलकुद’ गरिरहने प्रवृत्तिबाट आजित भएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई नेपाली राजनीतिबाट नै सदाका लागि किनारा लगाउने वैकल्पिक उपायको खोजी गर्न थाल्नुभयो । जसबाट पछिल्लो सत्ता समिकरण बदल्ने कांग्रेस-एमाले सहमति भएको बुझ्न सकिन्छ ।
माओवादी केन्द्रभित्र जनार्दन शर्माको एक समूह तत्कालै विद्रोह गर्ने अवस्थामा पुगिसकेको आँकलन हुन थालेको छ । झण्डै १२ जना संघीय सांसद लिएर जनर्दन शर्मा माओवादीबाट बाहिरिए भने माओवादी केन्द्र संसदमा चौथो शक्तिका रुपमा खुम्चिने अवस्था नआउला भन्न सकिन्न ।
देशको तेस्रो पार्टी भएर पनि सत्तामा रहिरहने अवसरलाई उनले प्रयोग गर्न जानेनन् । प्रचण्डले ३२ सिटको ‘जादु अंक’ आफूसित रहेको र पाँच वर्ष नै सरकार प्रमुख भएर चलाउनेजस्ता हावादारी भाषण गर्दै हिँड्नुभएको थियो । पार्टीप्रतिको साख ‘दिन एक गुणा, रात चार गुणा’ खस्किरहेको अवस्थामा २०८४ मा हुने निर्वाचनमा माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रन सक्ने देखिन्न । यदि उत्रियो नै भने पनि ३-४ सिट जितेर देखाउन उसलाई हम्मे-हम्मे पर्ने देखिन्छ । सबै दल, नेता तथा कार्यकर्तासम्मलाई पटक-पटक दिएको धोकाका घटनाले प्रचण्ड आफैं नेपाली राजनीतिबाट किनारा लाग्ने अवस्था सिर्जना भएको भनियो भने अतिरञ्जना ठहरिने छैन ।
प्रतिक्रिया