बाढीपहिरो रोक्ने काम सिडियो साबहरुलाई जिम्मा दिनु गलत

बाढीपहिरो रोक्ने काम सिडियो साबहरुलाई जिम्मा दिनु गलत


यो वर्ष पनि सिडियो साबहरुलाई बाढीपहिरो रोक्न जिम्मा दिइयो, के यो हास्यास्पद नीति होइन ?

१. शहरबजारमा बाढी आउनुअगाडि नै बाढीको व्यवस्थापनको संरचना निर्माण गर्नुपर्छ, तर सरकारले सम्पूर्ण कुरा सिडियोको जिम्मामा छोडेको छ । जुन पुरै हास्यास्पद छ ।

२. हावाहुरी, बतास, चट्याङ तथा खडेरी आउँछ विनास गर्छ प्रत्येक वर्ष । पीडित वर्षौंसम्म पीडित भएका देखिन्छन् । तिनीहरूलाई सिडियोले हेर्नुपर्छ । खडेरीको त सरकारले सूचना बटुलेको समेत थाहा छैन अहिलेसम्म । अझ खडेरीको कारण भएको क्षति त सरकारलाई हेक्का पनि छैन ।

३. बाढी, पहिरो, अतिवृष्टि, खण्डवृष्टि, क्लाउड ब्रष्ट, मुसलधारे पानी, भारी वर्षा आदि जलउत्पन्न प्रकोपले बर्सेनि सयौँ नेपाली परिवारलाई पीडित बनाउँछ । सरकारले यसको व्यवस्थापन एउटा सिडियोको जिम्मा छोडेको छ । कति हाइसञ्चो हो ?

४. देशको सिमानाको रक्षा वा रेखदेख मात्र होइन, सिमानाको निर्धारण समेत सरकारले त्यही सिडियोलाई छोडेको छ । सिडियो साब चानचुने कहाँ हो र नेपालमा ?

५. अरु नियमित प्रशासनको जिम्मेवारीका बारेमा त कुरा नै गर्नु परेन उहाँहरुको । कसैलाई पुलिसले गोली हान्यो भने पनि सिडियोले जिम्मा लिनुपर्छ ! कस्तो नीति हो यो ?

६. अझ महामारीको व्यवस्थापन समेत जिल्ला-जिल्लामा सिडियो साबकै जिम्मा छ । अचम्म लाग्छ, देख्दा सुन्दा र भोग्दा पनि ।

७. तर दुःखको कुरा, नेपाल हो, जसलाई गार्हो पऱ्यो- पऱ्यो, राज्यलाई खास मतलब हुँदैन । राज्यका माथिल्लो निकायमा रहेका अधिकारीहरू तथा पदाधिकारीहरुलाई यस्ता कुराहरूले असर गरेको पनि हुँदैन । त्यही कारण एउटा सिडियोलाई यो सबै कुराहरूको जिम्मेवारी दिइएको छ । खासमा यो सरकार कर्तव्य च्यूतको पराकाष्टा हो।

८. एउटा सिडियोले के के गर्ने हो ? के के विषयको विज्ञ हुन्छन् सिडियोहरु जिल्लामा ? जिल्ला जिल्लामा सिडियोलाई सहयोग गर्ने विज्ञहरुको उपलब्धता कति छ नेपालमा ? केन्द्रमा त सही सल्लाह दिनेहरुको अभाव देखिन्छ सधैं ।

९. तर माथिका कम्तीमा पनि एकदेखि चारसम्मका जिम्मेवारी सिडियो साबको टाउकोबाट निकाल सरकार ।

१०. प्राकृतिक विपत्तिका लागि जिल्ला जिल्लामा नयाँ निकायको निर्माण गरौं । केन्द्रको एउटा निकायले सबैतिर सक्दैन। सीमा सुरक्षाचाहिँ जनपद पुलिस, सशस्त्र तथा सेनालाई जिम्मा देउ सरकार।
अस्तु ।