म आज एक आमनेपाली किसानको छोराको सत्यकथा लेख्दै छु । मलाई लाग्यो देशलाई केही नदिएर पनि देशबाट भने प्रसस्त लिन सफल प्रशासक, राजनीतिज्ञ, समाजसेवीका बारेमा त लेख्ने थुपै्र छन् तर यो मुलुकभित्र लुकेका कोही त्यस्ता मानिस पनि छन् जो माथि पुग्न सकेनन् तर पनि ती माथि पुग्नुपथ्र्यो । ती चर्चामा आउन सकेनन् तर पनि ती चर्चामा आउनुपथ्र्यो । तिनले यो मुलुकका लागि केही गर्न सकेनन् तर पनि तिनले केही गर्ने मौका पाउनुपथ्र्यो । यो पौने तीन करोड आमनेपालीबीचबाट आज नेपालीको कथा मैले टपक्क टिपेर यहाँहरूसमक्ष राख्दै छु । आशा छ यहाँहरूको पनि मन छुनेछ यो कथाले ।
तनहुँको रिसिङमा भन्ने विकट गाउँमा आजभन्दा झन्डै ६० वर्ष अगाडि एक गुरुङ मातापिताको कोखबाट एक बालकको जन्म हुन्छ जो सानैदेखि पढाइमा तेज थियो । त्यो गाउँमा पाँच कक्षासम्म पढ्ने सुविधा थियो । सधैं प्रथम भएर उनले सानैमा पाँच कक्षा पास गरे । तर, त्यसपछि माथि पढ्ने सुविधा नभएका कारण करिब चार वर्ष गाई चराएर बिताए । चौध वर्ष उमेर हुँदा पनि पाँच कक्षा मात्र पढ्न बाध्य ती केटाको आमाबाबुले विवाह गरिदिए । खुसीको कुरो गाउँनजिकै दश कक्षासम्म पढ्ने सुविधा भयो । उनले उमेर बढेका कारण ६ कक्षामा भर्ना नभई सात कक्षामा भर्ना हुन चाहे । उनको इच्छा पूरा भयो । उनले कक्षा चढे पनि सातमा प्रथम भए । प्रथम भएर उनले स्कुलबाट बत्तीसपाते तीन थान कापी पनि पुरस्कार पाए । यो पुरस्कारले उनी झन् पढ्न हौसिए । उनले आफ्नो उमेर हिसाब गरी आफ्ना हेडसरलाई कक्षा आठ नपढी सीधै कक्षा नौमा भर्ना गरिदिन अनुरोध गरे, त्यो अनुरोध पूरा हुन सकेन । अतः उनले त्यो स्कुल छोडिदिए र गाउँबाट करिब सात घण्टा पैदालमा पर्ने थर्पुको मीन हाइस्कुलमा गएर आफूलाई कक्षा नौमा भर्ना गराए । अचम्म कक्षा नौमा पनि उनी प्रथम नै भए । ०२५ सालमा उनले एसएलसी प्रथम श्रेणीमा पास गरे । त्यसबखत एक साधारण किसानका छोराले अनकन्टारमा पढेर एसएलसी पास गर्नु भनेको साधारण कुरा थिएन ।
त्यसबखत एसएलसी पास गर्नेको चर्चा अनकन्टार ठाउँमा हुने नै भयो । ती केटाका पूरै परिवार, गाउँ भारतीय सेनामा जाने प्रचलन रहेका कारण उनलाई पनि भारतमा सेवा गर्न परिवारबाट सल्लाह दिइयो, तर उनी नेपालकै सेवा गर्न चाहन्थे । अझै पढ्न चाहन्थे । आखिर बाबुको पनि मन पग्लिएछ । उनी पढ्नका लागि काठमाडौं पठाइए । फेल हुने उनको आदत थिएन । हेर्दाहेर्दै २०२७ सालमा उनले त्रिचन्द्र कलेजबाट बीए पास गरे । बीए पास गरेपछि उनी शिक्षण पेसामा लागे र २०३० सालतिर दोलखा जिल्लाको जिरी हाइस्कुलमा पढाउन थाले । उनको जीवन रामै्र चल्दै थियो, त्यत्तिकैमा एक पत्रिकामा प्रकाशित विज्ञापनले उनलाई अर्कै दुनियाँतर्फ धकेल्यो ।
एक दिन उनले पत्रिकामा काठमाडौं पुलिस इन्स्पेक्टरमा जागिर खान चाहनेहरूलाई विज्ञापन गरिएको देखे । आफन्त कोही नभए पनि भनसुन गरिदिने कोही नभए पनि उनले आवेदन दिने औपचारिकता पूरा गरे । अचम्म, त्यहाँ पनि उनी हज्जारौं प्रतिस्पर्धीबीचबाट प्रथम स्थानमा छनोट भए । ०३१ सालमा उनको परिचयको अगाडि इन्स्पेक्टर भन्ने नयाँ परिचय थपियो । इन्स्पेक्टर भएपछि उनी आधारभूत तामिलमा सहभागी भए त्यहाँ पनि उनी प्रथम नै भए । प्रथम भएर ब्याचका सबैभन्दा योग्य इन्स्पेक्टर भएको सावित गरे । उनी यो नयाँ परिचयका साथ देशसेवामा लागे । ज्यादै योग्य प्रहरी अधिकृत भएका कारण प्रहरीका हाकिमहरूको नजरमा उनी सदा प्रिय भए । पिटी परेड (आउट डोर) र बौद्धिक क्षेत्रमा उनी समान रूपले दक्ष थिए । त्यसबखेत दक्ष र ज्यादै होनहार अधिकृतहरू अझ जो ब्याचमा टप भएका छन् तिनलाई पुलिस तालिम केन्द्रमा प्रशिक्षक राख्ने प्रचलन थियो । यी होनहार अधिकृत पनि प्रहरीका प्रशिक्षक बने । उनको मिहिनेतले थुपै्र प्रहरी अधिकृत दक्ष हुँदै समाजसेवामा लागे ।
माथि मैले उल्लेख गरेसम्मको तनहुँको रिसिङ्गा गाउँदेखि प्रहरी प्रशिक्षक भएसम्मको कथा मैले पनि भर्खरै उहाँको जीवनी अध्ययन गरेपछि थाहा पाएँ । तर, मेरो जीवनमा ती प्रशिक्षक ठोक्किन आइपुग्नुभयो ०३९ सालमा । ०३९ सालमा म पनि खुला प्रतियोगिताबाट इन्स्पेक्टर भएँ । आधारभूत तालिम गर्न महाराजगञ्जको तालिम केन्द्रमा गएँ । तालिम निकै कठिन हुन्थ्यो । एक दिन रातमा फाटेको गन्जीको टालोले बुट टल्काउँदै थिएँ । एक्कासि कोही व्यक्ति हाम्रो ब्यारेकमा आइपुगे । उनको पछिपछि हामीलाई पिटी–परेड गराउने प्रशिक्ष पनि आएका थिए । हामीले बुझिहाल्यौँ यी पक्कै ठूला अधिकृत हुनुपर्छ । ती व्यक्तिहरू आएपछि हामी सबै ओच्छ्यान छोडी सतर्क भएर उभियौँ । मेरो हातमा अझै जुत्ता थियो । ती अधिकृतले हामी चौबीसजनाको अनुहार एक–एक गरी हेरे । केही बोलेनन् । सबैलाई बाहिर चौरमा भेला हुन भने र हामी करिब ८ बजे राति ब्यारेकबाट चौरमा भेला भयौँ । मनमनले यो कुन दशा आइलाग्यो भनेर डराइरहेका थियौँ । अँध्यारोमा ती अधिकृतको अनुहार पनि चौरमा उभिँदा हामीले राम्ररी देखेनौँ । सास रोकेर बस्यौँ । ती अधिकृतले बाघ गर्जेझैं गर्जेर हामीलाई भन्नुभयो, ‘सावहरू हो मेरो नाम डीएसपी गन्जसिंह गुरुङ हो । आजबाट म तिमीहरूको प्रमुख प्रशिक्षक भएर आएको छु । मलाई अनुशासनहीन मान्छे मन पर्दैन, याद गर्नु ।’ यति भनी उहाँ अँध्यारोमा हराउनुभयो । हामी चुपचाप कोठामा गयौँ । अघिसम्म बुटको टाउकोमा आफ्नो अनुहार देख्नेगरी चम्काउन थुक लगाइलगाई फाटेको गन्जीद्वारा मोल्दै गरेको मेरो जोस पनि त्यसपछि डरले त्यसै ठण्डा भयो । हामी सबैजना त्यसपछि हिउँमा अन्टार्टिकामा पिनगुइनहरू टाँस्सिएर जम्मा भएझंै गरी एक ठाउँमा भेला भयौँ । हामी तालिम गर्नेहरूमध्ये प्रहरीबाटै छानिएर आएकाहरूले उहाँलाई चिन्दथे । त्यसैले उनीहरूले बताए– यी अधिकृत ज्यादै तगडा अधिकृत हुन् र उनी खतरनाक छन् ।
ती खतरनाक प्रशिक्षक मानिएका डीएसपी गञ्जसिंह गुरुङसँग मेरो परिचय त्यसै दिनदेखि हुन गयो । उहाँको सोचअनुसार काम गर्न ज्यादै गाह्रो थियो किनकि जुनस्तरको शारीरिक क्षमता र बौद्धिक क्षमता गुरुङ सरमा थियो त्यो हामीमा थिएन । डीएसपी गुरुङको तालिममा परेर हामीहरू नजादिँदो रूपले प्रहरी भइसकेका रहेछौँ ।
एक दिन हावामा हल्ला फैलियो– डीएसपी गञ्जसिंह गुरुङको सरुवा भयो भनेर । हल्ला हाम्रो तालिमे टोलीमा पनि आइपुग्यो । हामी सबै खुसीले उफ्रियौँ । त्यस दिन मेसमा खाना खाँदै गर्दा यो खबर आएको थियो । सबैले थाल ठटाएर खुसी व्यक्त ग¥यौँ, तर समाचार पुष्टि नभइसकेकाले खुसी भइहाल्ने पनि स्थिति थिएन । यदि सरुवा नभएको भए यसै कुरामा थप पेलान खाने सम्भावना थियो । दिउँसो क्लासको समय आयो । गञ्जसिंह सर हाम्रो कक्षामा आउनुभयो । सधैं हान्ने राँगोझैैं अनुहारमा देखिने ती प्रशिक्षक त्यस दिन मुसुमुसु हाँस्दै आउनुभयो । हामीलाई चाहिँ कतै सरुवा भएको खबर गलत नहोस् भन्ने कामना थियो । उहाँले हाँस्दै भन्नुभयो, ‘सावहरू हो, विभागले मेरो सरुवा गरिदिएको छ । म जिल्ला जाँदै छु । एउटा प्रशिक्षकको हैसियतले जाने–बुझेसम्म तपाईंहरूलाई हरपरिस्थितिमा काम गर्न सक्ने अधिकृत बनाउन मैले प्रयास गरेँ । मलाई विश्वास छ तपार्इंहरूमध्ये कोही एक दिन यो फौजको प्रहरी प्रमुख बन्नुहुनेछ । त्यस दिन म खुसी हुनेछु । अघिसम्म कहिले सरुवा भएर गइहाल्ला भन्ने सोच राख्ने हामी तालिमेहरू एकैछिनमा आँखाभरि आँसु पार्न थाल्यौँ । उहाँ बोल्दै हुनुहुन्थ्यो र उहाँको आँखामा पनि आँसु छचल्किएका थिए । त्यसपछि हामीले महसुस गरिहाल्यौँ हाम्रो जीवनमा ती गञ्जसिंह गुरुङ नामका प्रशिक्षक कति अर्थ राख्थे भनेर । उहाँ त्यस दिनपछि तालिम केन्द्रमा हुनुभएन ।
हामी तालिम पास गरी इन्स्पेक्टर भयौँ । म त्यही तालिम केन्द्रमा प्रशिक्षकमा छनोट भएँ । मेरो काममा पनि गञ्जसिंह गुरुङको प्रभाव थियो । दिन बित्दै गयो बिचरा गञ्जसिंह गुरुङको प्रभाव थियो । दिन बित्दै गयो बिचरा गञ्जसिंह गुरुङको जीवनमा एक नौलो अकल्पनीय समस्या आयो । भयो के भने मैले पहिला पनि लेखेअनुसार तत्कालीन अधिराजकुमार धीरेन्द्रले बाहिर बेलायत मूलकी केटीलाई नेपालमा राख्न थालेपछि रानी ऐश्वर्य र धीरेन्द्रबीच तनाव बढ्यो । धीरेन्द्रले केटी नछोड्ने बरु देश छोड्ने भन्दै आफ्ना सुरक्षा अधिकृत कर्णेललाई लिएर विदेश हिँड्न लागेपछि रानी कर्णेल भरत गुरुङसँग पनि रुष्ट भइन् र तिनलाई सजाय दिन भित्री आदेश दिइन् । त्यही भित्री आदेश पालना गर्दै दरबारका जर्नेल ऋषिकुमार पाण्डे, कर्णेल ताराबहादुर थापाले प्रहरीका आईजीपी हेमबहादुर सिंह र डीआइजी रणबहादुर चन्दमार्फत कर्णेल भरत गुरुङको घरमा ड्रग्स राख्न लगाई उनलाई जेल हाल्ने काम गरे । यही षड्यन्त्रमा भरत गुरुङसँग आईजीपी डीबी लामा पनि मिलेका छन् भनी उनलाई पनि जेल हाले । रानीको आफ्नो देवरप्रतिको रिसलाई प्रयोग गर्दै प्रहरीमा ठूलो षड्यन्त्र सुरु भयो । जो–जो माथि पुग्ने खालका अधिकृत थिए तिनलाई भरत गुरुङ वा डीबी लामाको नजिक भएको आरोप लगाउँदै खोसी, जेल हाली, हेमबहादुर र रणबहादुर प्यानलका मानिसलाई माथि लैजाने खेल सुरु भयो । यसै षड्यन्त्रमा पारिए बिचरा गञ्जसिंह गुरुङ पनि । उहाँलाई पनि गुरुङ थर भएका कारण कर्णेल भरत गुरुङलाई नराम्रो काम गर्न उकास्ने अधिकृत भनी जबर्जस्ती सैनिक अदालतमार्फत दुई वर्ष जेल हालियो । त्यसबखत जेल छिर्ने क्रममा उहाँको मुखबाट निस्किएको थियो रे, ‘नेपालमा न्याय मरेछ ।’ प्रहरीमा सधैं प्रथम हुने र माथि जाने क्षमता नै उहाँलाई जेल हाल्ने कारण बन्यो ।
सिरिङ्गा गाउँको विद्यार्थी हुँदा एउटा कथा, दोलखाको शिक्षक हुँदा अर्को कथा र प्रहरीमा दक्ष प्रशिक्षक भएको बखत अर्को कथा बोकेका डीएसपी गञ्जसिंह गुरुङको जीवन ०४४ सालमा जेलमा पुगेर नौलो मोड लियो । रुने–कराउनेबाहेक राजाको शासनमा गञ्जसिंहले जेलभित्र बसेर गर्न सक्ने केही थिएन । दुई वर्षपछि जेलबाहिर निस्कँदा उहाँको जीवनको परिचय अपराध गरेर खोसिएको प्रहरी अधिकृतको रूपमा थियो । कति दुःख लागिरहेछ यो हरफ लेख्दा मलाईसमेत भने उहाँलाई कस्तो भयो होला ?
उहाँ जेलबाट निस्किएर यो समाजमा हातमुख जोर्नका लागि सङ्घर्ष गर्न थाल्नुभयो । दुई छाक खानका लागि माडवाडीको गलैंचा कारखानामा काम गर्दै आफैंले गलैंचा बन्न सिक्नुभयो । सानोतिनो उत्पादन सुरु गर्दा बालश्रमको हौवाले गलैंचा कारखाना डुबेपछि सानो रेस्टुरेन्ट चलाउनुभयो । त्यसपछि नर्सिङ कलेज चलाउन प्रयास गर्नुभयो । तर, आर्थिक अभावका कारण उहाँले त्यो बेच्नुप¥यो । पैसा कमाएका प्रहरी साथीहरूले त्यो कलेज किनेर अहिले पनि चलाउँदै छन् । साठी वर्ष पुगिसक्दा पनि डा. हर्क गुरुङबाट प्रभावित गञ्जसिंह गुरुङले पढ्न छोड्नुभएन । अहिले पनि उहाँ जमलस्थित जनप्रशासन क्याम्पसमा एमपीए पढ्दै हुनुहुन्छ र उहाँलाई पीएचडी गर्ने धोको छ । सँगै पढ्ने कलिला साथीहरूले गञ्जसिंह गुरुङ सरको उमेर हेरेर जिस्क्याउँछन् पनि । मर्नेबेला हरियो काँक्रो पनि भन्छन् रे । तर, उहाँको जीवनलाई वास्तवमै बुझ्ने हो भने गुरुङ सर यो मुलुकको एक जिउँदो इतिहास हुनुहुन्छ ।
गुरुङ सरको नयाँ कथा फेरि जनप्रशासन क्याम्पसतिर मोडिएको छ । उहाँमाथि यो मुलुकले घोर अन्याय गरेकै हो । प्रहरीमा कस्ता–कस्ता गएगुजे्रका माथि पुगे मलाई तिनको बारेमा लेख्नु केही छैन किनकि तिनको जीवनमा लेख्नलायक नै केही छैन । गञ्जसिंह गुरुङ मेरा लागि लेख्ने एक पे्ररणा हुन् । म चाहन्छु सबैले उहाँको क्षमता बुझून् । उहाँप्रति भएको अन्यायमा संवेदना देऊन् र साठी वर्षमा पनि पीएचडी गर्ने उहाँको धोको पूरा गर्न सहयोग गरून् ।
कसैलाई गञ्जसिंह गुरुङसँग कुरा गर्न मन लाग्यो वा उहाँको जीवनका अरू पाता केलाउन मन लागेमा फोन ९७४६०३८४७५ मा उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ । मैले गुरुदक्षिणाको रूपमा उहाँका सङ्घर्षमय जीवनलाई सार्वजनिक गरेको छु ।
प्रतिक्रिया