आजको पञ्चाङ्ग एवम् राशिफल (४ साउन २०८१ शुक्रबार, १९ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ साउन २०८१ शुक्रबार, १९ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ श्रावण ४ गते तद्अनुसार सन् २०२४ जुलाई १९ तारिख शुक्रबार आषाढ शुक्ल त्रयोदशी तिथि मूल नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने देखिन्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्ने योग रहेकोले सचेतना अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा खासै प्रगति नहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने समय छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । व्यापारमा फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने योग छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँट वृद्धि हुनेछ । जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने सकिने छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । अनावश्यक भ्रमण हुन सक्ने सम्भावना छ, सोचविचार गर्नुहोला । आज स्वास्थ्यगत समस्याले पनि सामान्य सताउन सक्छ । उपचारमा खर्च हुनुबाट बच्न खानपानमा सजगता अपनाउनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ । परिवारजनबाट टाढिनुपर्ला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिने योग छ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । तर, विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । विगतका समस्या बल्झिन सक्ने तथा सानातिना घरेलु समस्या देखापर्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यस्तता वृद्धि भएपनि कामको राम्रै मूल्यांकन हुने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । भौतिक साधनसमेत जुट्ने योग छ । चिताएको काम समयमा सम्पादन नहुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुन सक्छ रपनि पराक्रम बढ्ला । कार्यगति बढ्नेछ ।

तुला – आजको दिन कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । मेहनत गर्दा राम्रै धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । स्वास्थ्य सबल रहनेछ । रसरागको भाव जागृत होला । पराक्रम बढ्नेछ ।

वृश्चिक – दिगो योजना प्रारम्भ हुने तथा आम्दानी तथा आयआर्जनका स्रोत खुल्ने समय छ । साझेदारीको काममा फाइदा होला । तथापि, आज अरूका काममा धेरै समय बित्न सक्छ । व्यक्तिगत उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहने सम्भावना पनि छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिने योग रहेकोले महत्वपूर्ण कार्य थााती राख्नु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा आज विशेष सजगता अपनाउनुहोला । तार्किक क्षमता बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने योग छ । आरोग्यता रहनेछ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । नयाँ कामको प्रस्ताव आउने तथा धनआर्जन हुने योग छ । काममा सहयोगीहरू प्रशस्तै भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इर्ष्या गर्नेहरू सक्रिय हुनसक्ने हुँदा विशेष सावधानी अपनाएर काम गर्नुहोला । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । सफलताको दर बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ । परोपकारमा मन जाला । आज स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ख्याल राख्नुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुनसक्ने योग भएपनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्नपनि सक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ, संयमता अपनाउनु उचित हुनेछ ।