आजको पञ्चाङ्ग एवम् राशिफल (६ साउन २०८१ आइतबार, २१ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ साउन २०८१ आइतबार, २१ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण ६ गते तद्अनुसार सन् २०२४ जुलाई २१ तारिख आइतबार आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि उत्तराषाढ़ा नक्षत्र विषकुम्भ योग बालब करण आनन्दादिमा अमृत योग चन्द्रमा धनु राशिमा ८ः१७ पर मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ । गुरुपूर्णिमा, गुरुपूजा, व्यासजयन्ती, दक्षिणामूर्ति पूजा, मानसव्रतारम्भ, भ.पु.वीरनदीस्नान ।

आजको राशिफल

मेष – अरूका लागि बुद्धि र समय खर्चनुपर्ने समय छ । श्रम गरीकन खासै मूल्य प्राप्त नहोला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेकोले विशेष सचेतनाको खाँचो छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने सम्भावना छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् भने परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । विशेष कार्यमा मातृसहयोग मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।

मिथुन – दिन सुखदायी छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई सवक सिकाउन सकिएला । आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । कुनै पनि काममा अरुको भर नपर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन मिश्रित फलदायी रहला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ, तथापि परिश्रम र लगानीअनुसारको लाभ मिल्न कठिन पर्ने देखिन्छ । सवारी साधन उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ, तर यात्रा गर्दा धनमाल हराउन सक्ने योग रहेकोले सतर्कताको दरकार छ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ । खेलकुदजन्य क्रियाकलाप तथा रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस भएपनि इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । पढाइलेखाइमा पनि प्रगति नै होला । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । प्रेमभाव बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजन सहयोगी बनेर देखिनेछन् । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । केही विवादमा परिने योग रहेकोले सजगता अपनाएर व्यवहार गर्नु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । यात्रागत कार्य गर्नुछ भने आज सफलता मिल्ने देखिन्छ ।

तुला – व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा मिल्ने समय छ । मुद्दा-मामिलामा पनि विजयी भइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । धन आर्जनको योग छ । ब्यस्तता बढ्नेछ, आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण रहला । सन्तानपक्षबाट सुख मिल्नेछ ।

वृश्चिक – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग छ । तथापि, आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । रोकिएको काम तपाईंको विशेष प्रयासले बन्नेछ । आरोग्यता रहनेछ ।

धनु – आजको दिन बाध्यताका काममा अल्मलिनुपर्ने देखिन्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । तथापि, आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तजनसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अप्ठ्यारो मानिएको काम तपाईंको विशेष प्रयासबाट बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने योग रहेकोले सजगतायुक्त व्यवहारको दरकार छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै लाभ हुने देखिन्छ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिएला । तथापि, अरूको फाइदाका लागि उपयोग भइने योग छ, सजग रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । तर, सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।