निम सरले त्यो झापड नहानेको भए … ?

निम सरले त्यो झापड नहानेको भए … ?


आज गुरुपुर्णिमा ! बिहानैदेखि फेसबुकलगायत सामाजिक संजालको भित्ताहरू गुरुपुर्णिमाको शुभकामनाले रंगिएको छ । सबैले आफ्ना आफ्ना गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् । जीवनमा गुरुको महत्व धेरै हुन्छ, जीवनकालमा धेरै गुरुहरू धेरै तरिकाले जोडिएका हुन्छ्न् । बा र आमदेखि आजको दिनसम्म एउटा नयाँ कुरो केही सिकाइदिने मान्छे पनि गुरु नै हुन् । तसर्थ, ती तमाम ज्ञात-अज्ञात गुरुप्रति मेरो प्रेम र श्रद्धाभाव छ ।

सिकेर कहिल्यै पनि नसकिँदो रहेछ, मान्छेले जति नै आफूलाइपूर्ण ठानेपनि उ सधैं सिकिरहेको हुन्छ छ, म सबैभन्दा जान्ने वा मभन्दा जान्ने कोहि छैन भनेर घमण्ड गर्ने केही ‘मै हुँ’ भन्नेहरू भन्दाबाहेक यो यथार्थलाई सबैले स्विकार गर्छन् होला पक्कै पनि । त्यसैले एउटा मान्छेको जीवनलाई सार्थक बनाउन धेरै गुरुहरूको योगदान हुन्छ । गुरुहरू निःस्वार्थी हुन्छन्, तिनले आफुलाई रित्याएर भएपनि अरुलाई सिकाउँछन् । तर, तिनले बुझेका हुन्छन्- ज्ञान जति बाँड्यो त्यति बढ्छ । जानेका कुरा अरुलाई सिकाउन नखोज्ने अनि ज्ञान अरुलाई बाँड्नको लागि मोलमोलाइ गर्नेहरू गुरु हुन सक्दैनन् भन्ने मेरो ठम्म्याइ हो । हुन त जमाना व्यवसायिक छ, व्यवसायिकतालाई बिर्सेर कतिपय कुरा गर्न अलिक असहज पनि होला तर पनि मेरो ज्ञान बाँडे सकिन्छ भनेर भ्रम पाल्नेहरू गुरु बन्न सक्दैनन् भन्नेमात्र कुरा हो मेरो ।

बिहानैदेखि फेसबुकका भित्ताहरूमा गुरुपुर्णिमाको महिमा र गुरुप्रतिको श्रद्धाभावहरू प्रकट भए । मैले पनि आफ्ना मुर्तअमुर्त गुरुहरूलाई फेसबुकको वालबाट नै श्रद्धाभाव प्रकट गरे । तर, त्यतिले मात्र मेरो मन मानेन, गुरुहरूप्रति श्रद्धाभाव प्रकट गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ, मैले दुईचार शब्द कोर्न जानेको छु अझ भनौँ मेरा गुरुहरूले कोर्न सिकाएका छन् । त्यसैले उहाँहरूको सम्झनामा दुईचार शब्द कोर्ने प्रयास गरेको मात्र हुँ । हुन त समय मान्छेको सबैंभन्दा ठुलो गुरु हो, समयले मान्छेलाई धेरै कुरा सिकाउँछ, समयको गतिसँगै मान्छेले आफूलाई निखार्दै लैजाने पनि गर्छ । तर यो अमुर्त हो, समयको गतिसँगै आफूलाई अगाडि बढाउन पनि केही मुर्त गुरुहरूको आवश्यकता पर्दछ । त्यसैले केही त्यस्ता मेरा गुरुहरू जसले मेरो जीवनमा केही न केही परिवर्तन ल्याउन धेरै कुरा सिकाएका छन्, एकैछिन उनीहरूलाई सम्झन चाहन्छु ।

गोर्खा जिल्लाको उत्तरी गाउँ तत्कालीन मसेल गाविसको वार्ड नम्बर ६ मा म जन्मिएको हुँ । हाम्रो गाउँमा त्यतिबेला एउटा बिन्द्रावति माध्यमिक विद्यालय भन्ने थियो जो अहिले पनि छ । त्यतिबेला हाम्रो गाउमा बोर्डिङ स्कुलहरू थिएनन् । धेरै टाढा घ्याम्पेसाल भन्ने ठाउँमा एउटा बोर्डिङ्ग स्कुल थियो कि भन्ने लाग्छ तर बिर्सिसके । बिन्द्रावतिमा म कक्षा चारसम्म पढेको हुँ । त्यतिबेला हामीलाई कखरा सिकाउने गुरुहरूमध्ये केहीको नाममात्र सम्झन्छु धेरै भुलिसकेँ, निमप्रसाद सर, महेन्द्र सर, रञ्जना म्याडम, अमृता म्याडम, नारायण सर आदि मात्रै । तीमध्ये निम सरलाई विषेष सम्झन्छु । बुढा दुब्ला थिए तर अग्ला ठ्याक्कै अहिले मजस्तै । हामीलाई गणित पढाउँथे, म पढ्नमा अब्बल नै थिएँ, कि पहिलो कि दोस्रो हुन्थे कक्षामा, एउटै कक्षामा हामी ६० जना पढ्थ्यौँ । निम सर मलाई विशेष ध्यान दिन्थे.. किन हो थाहा छैन । एउटा हिसाब बिग्रियो भने बुढाले ठटाइहाल्थे । एक पटक एउटा हिसाब बिगारेँ मैले, बुढा रिसले आगो भए, मलाई बेन्चमाथि उठ्न भने, अनि कसेर झापड हाने निम सरले, म थचक्क बसेँ ! तीन लोक एकैपटक देखेझैँ भयो । खुब दुख्यो, त्यतिबेला खुबै रिस उठ्यो ।

अहिले निम सरको त्यो झापड मेरा लागि बरदानसरह भएको छ । उनको त्यो झापड मेरा लागि मार्गदर्शक थिए । त्यसपछि मैले गणितमा सधैं उत्कृष्ट नम्बर ल्याए, हिसाब बिग्रेर खाएको त्यो झापडले मलाई गणित विषयप्रति लगाव बढ्यो । त्यसपछि कुनै दिन पनि मेरो हिसाब बिग्रिएन र मैले झापड खानु परेन । त्यसैको जगमा मैले एसएलसी र पछि कलेज लाइफमा पनि सधैं गणितमा उत्कृष्ट नम्बर प्राप्त गरेँ ।

निमसरलाई कसैले ठग्न सक्दैनथ्यो, ठग्यो कि थाहा पाइहाल्थे, धेरै मिहिनेत गरेर पढाउथे निम सर । निम सरसँग भेट नभएको वर्षौं भइसक्यो, उहाँको अहिलेको अवस्थाका बारेमा मलाई केही थाहा छैन । अझ भन्ने हो भने मैले सरलाई नचिन्ने र सरले मलाई नचिन्ने स्थितिमा छौँ हामी । मसेल पुग्दा निम सरलाई भेट्न खोज्छु तर भेट्न सकेको छैन । उहाँको बारेमा अरु जानकारी पनि छैन । तर मेरो मानसपटलमा सधैं निम सर एक श्रद्देय गुरुका रुपमा पुजनिय हुनुहुन्छ । मलाई अहिले लाग्छ निम सरले त्यो झापड नहानेको भए मेरो जीवनको रङ सायद अर्कै हुन्थ्यो ।

२०५१ सालमा मेरो परिवार चितवन आएपछि विन्द्रावती मावि मैले छाडेँ । तर त्यस स्कुलले मप्रति पुऱ्याएको योगदान र त्यहाँका गुरुहरूको मप्रतिको योगदान कहिल्यै भुल्ने छैन ।

चितवन आएपछि पञ्चकन्या मावि जयमङ्गलामा मेरो पठनपाठन शुरु भयो, त्यहाँका गुरुहरूको पनि सबैको नाम सम्झन सक्दिनँ, यसका लागि क्षमा चाहन्छु, तर बालकृष्ण सर, कौशिला म्याडम, ईश्वरी सर, मेघनाथ सर आदिलाई भुल्दिनँ । बालकृष्ण सर हामीलाई अग्रेजी पढाउँथे । बुढा कडा स्वभावका थिए र अहिले पनि छन् । बुढाले मलाइ अङ्ग्रेजीको ग्रामर यसरी घोकाए कि म अहिले पनि ग्रामरका नियमहरू सम्झँदा बालकृष्ण सरकै शैली पछ्याउँछु । कक्षा सात सकेपछि म चितवन हाईस्कुल भरतपुरमा पढ्न आएँ । चितवन हाईस्कुलमा मलाई पढाउने सबै गुरुहरूको नाम कण्ठ पनि छ र सबैलाई चिन्छु पनि । उहाहरूसँग अझैपनि नियमित भेटघाट र सम्पर्क भइराख्छ । अझै पनि भेट भएका बेला उहाँहरूसँग जीवन सञ्चालनका कुशल तौरतरिका सिकिरहेकै हुन्छु, उहाँहरू पनि आफ्नो चेलालाई यो उमेर सम्म कुनै न कुनै तरिकाले सिकाउन पाउँदा खुशी नै देख्छु । बास्तोला सर, अच्युत सर, चिरञ्जीवी सर, दिलिप सर, रेशम सर, ध्रुव सर, रामप्यारी म्याडम, वसन्त सर, हरिराज सर आदि सबै जसले मलाई पढाए, आफ्नो अमुल्य ज्ञानको भण्डार बाँडे र मलाई यहाँसम्म ल्याइपुऱ्याउन अमुल्य योगदान दिए । यो गुरु पुर्णिमाको अवसरमा उहाँहरूप्रति नमन गर्दै शिर झुकाएर श्रद्धाभाव अर्पण गर्न चाहन्छु ।

म अहिले जुन क्षेत्रमा काम गर्छुृ यहाँसम्म आइपुग्न पनि मलाई थुप्रै अग्रज, सहकर्मी र अनुजहरूले साथ दिनुभएको छ, नजानेका कुराहरू सिकाउनुभएको छ । यो बखत उहाँहरूलाई बिर्सिएँ भने म स्वार्थी कहलिन्छु । आज २/४ पैसा यही पेशामा रहेर कमाउन सकेको छु, त्यो उहाँहरूकै देन हो । पत्रकारितामा मलाई दिनेश थपलियाले धेरै कुरा सिकाउनुभएको छ । उहाँको गुन कहिल्यै भुल्न सक्दिनँ । अहिले उहाँ जापान हुनुहुन्छ तर उहाँले सिकाएका कुराहरू मानसपटलमा अझै पनि छ्न् ।

खासगरी रेडियोको कुरा गर्दा मैले रेडियो हेटौंडामा सिकेको हुँ । त्योभन्दा अघि म छापामा काम गर्थें । हेटौंडामा काम गर्ने सिलसिलामा त्यहाँका अग्रज, सहकर्मी र अनुजहरूबाट धेरै सिक्ने मौका पाएँ । दीपक अधिकारी, कुमार अधिकारी, नरेन्द्र सापकोटा, नवराज खनाल, दर्शन क्षेत्री, जितेन्द्र पौडेल, विमल, गोकुल, सरस्वति, सरला, ध्रुव, धीरज, मुस्कान आदि । मैले त्यहाँ रहँदा धेरै कुरा सिकेँ, कति सिकाएँ तर सिक्दै र सिकाउँदै गर्दा पनि आफूले आफूलाई यो क्षेत्रमा अब्वल बनाउने र खार्ने मौका मैले हेटौँडामा नै पाएको हुँ । मैले ती सबै सहकर्मीहरूलाई कुनै न कुनै रुपमा गुरु मानेको छु ! आज म जहाँ छु त्यहा हेटौंडाको योगदान छ, यी साथीहरूको अहम् भुमिका छ । अझ विशेषगरि जितेन्द्र पौडेल दाइ जसले मलाई रेडियो क्षेत्रमा ल्याए उनको गुन कहिल्यै भुल्ने छैन । उनी नभएको भए सायद म अर्कै पेशामा पो हुन्थेँ कि !!

मैले केही समय शिक्षक भएर काम गरेँ, अहिले पनि दर्जनौँ स्थानमा तालिम दिँदै हिँड्छु । खासगरी पत्रकारितासम्बन्धित तालिम, भाषणकला, उद्घोषण, लिडरसिप ट्रेनिङ, क्यापासिटी बिल्डिङ, प्रपोजल र प्रतिवेदन लेखन युवा सशक्तिकरण तालिमलगायतको क्षेत्रमा म काम गर्छु । तर यसो भनिरहँदा मैले कहिल्यै पनि आफूलाई पुर्ण ठानेको छैन र अहिलेसम्म सिकिरहेको छु । म कुनै तालिमको कोठामा प्रशिक्षण दिन छिर्दा म सिकाउन होइन सिक्न आएको हुँ भनेर आफ्नो सेसन शुरु गर्छु अझै पनि । साँच्चै मलाई लाग्छ- सिकाउँदै गर्दा धेरै कुरा सिकिन्छ । त्यसैले मान्छेको जीवनमा गुरुको रुप अनेक हुँदारहेछन् । मान्छेले सिकेर कहिल्यै सकिँदोरहेनछ । फेरि एकपट सम्पुर्ण मुर्त र अमुर्त गुरुहरूप्रति नमन गर्न चाहेँ । जसले कुनै न कुनै रूपमा गुरु बनेर मेरो मार्ग कोरिदिनुभयो उहाँहरूप्रति एक पटक फेरि श्रद्धाले शिर निहुराउँदै नमन गर्दछु ।

मलाई यति लेखिरहँदा फेरि लाग्छ- गुरुहरूको आफ्नो चेलाप्रति कहिल्यै नकारात्मक चिन्तन हुँदैन, गुरुहरू आफ्ना चेला आफूभन्दा अब्बल भएको हेर्न चाहन्छन् । गुरुको वचन जहिले पनि अमृतसमान हुन्छ । अझ कहिलेकाहीँ गुरुले आफ्नो चेलाको उत्तम सुदूर भविष्यका लागि हान्ने झापड त झन् अकाट्य सकारात्मक मार्गदर्शक हुन्छ । त्यसैले मलाई आज पनि निम सरको त्यो झापडप्रति प्रेम छ, सम्मान छ । मलाई फेरि पनि लाग्छ- निम सरले त्यो झापड नहानेको भए… ?
अस्तु !!