आजको पञ्चाङ्ग एवम् राशिफल (११ साउन २०८१ शुक्रबार, २६ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ साउन २०८१ शुक्रबार, २६ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण ११ गते तद्अनुसार सन् २०२४ जुलाई २६ तारिख शुक्रबार श्रावण कृष्ण पक्षको पञ्चमी तिथि ५ः४१ पर षष्ठी तिथि उत्तराभाद्रपद नक्षत्र अतिगण्ड योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।

आजको राशिफल

मेष – शुभता र अनुकूलता वृद्धि हुनेछ । कार्यसम्पादनको क्षमता बढ्ने र ठीक समयमा सही निर्णय लिन सकिने दिन छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने व्यवसायमा फाइदाको योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त होला ।

वृष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । तर, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्छ, सचेत रहनुहोला । ब्यापारमा सामान्यमात्र फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – शत्रु र रोगबाट छुटकारा मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुऱ्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनु उचित हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

कर्कट – दौडधुप र जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् तर बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – बोलीको माध्यमले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । पहिलेको सफलताले उत्साह जगाउला । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले गति लिनेछ ।

कन्या – पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । आयआर्जनको दृष्टिले दिन राम्रै छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्राको अवसर जुट्ला । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त गर्नुहुनेछ ।

तुला – आरोग्यबल बढ्नेछ । प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता वृद्धि होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफले उत्साह जगाउला । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्ने योग रहेकोले आजको दिन सहयोगीहरूको भर नपर्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिने र घरायसी काम बन्ने समय छ । तर, परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने देखिन्छ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती बढ्नसक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक क्रियाकलापमा सफलता मिल्ने समय छ ।

धनु – व्यस्तता बढ्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदा होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण रहला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो भएको अनुभूति होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । इच्छाशक्ति बढ्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने हुँदा सचेतनाको दरकार छ । आरोग्यता रहनेछ । दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ – आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ, तथापि अर्थअभावका बाबजुद चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । नसोचेको फाइदा प्राप्त हुने योग रहेकोले चुनौतीहरू स्वतः हट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा अनावश्यक डरले घर गरेपनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । आरोग्यता रहनेछ ।