✍ मुक्तिनाथ खनाल

एक पटक होइन पटक-पटक भूल गर्ने, एउटा होइन धेरै नै भूल गरिरहने अल्पमतका निवर्तमान प्रधानमन्त्री प्रचण्डले सशस्त्र क्रान्ति गरेर सत्र हजार मानिसले अमूल्य जीवन गुमाउनुपरेको सबैभन्दा ठूलो भूल छँदै थियो । ती शहीदहरूको रगतले कहिल्यैपनि उनलाई क्षमा गर्ने छैनन् । त्यो अपराध गरी सत्तामा आएर पटक-पटक प्रधानमन्त्री भए पनि त्यो अपराध भगवान र पीडित परिवारले क्षमा गर्नलायक थिएन, छैन ।
अरु पार्टीका सांसदले जे–जति भने पनि देशका प्रधानमन्त्री भएपछि पीडित परिवारले क्षमा गरेका थिएनन् । प्रचण्डले अरु सजाय पाउन बाँकी नै होला कि ! ?
पटक–पटक सरकारमा आउँदा उनका एउटा हैन अनेकौँ भूल थिए । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी नामको दलका विनासिद्धान्त बर्बराउने, उर्भौलो स्वभावको, आफू कुन मन्त्री हुँ भन्ने नै हेक्का नराखी व्यवहार गने, सदनमा के बोल्न हुन्छ के बोल्न हुन्न भन्नेसमेत किञ्चित ज्ञान नभएको, कहिले मातृभूमि त्यागेर अमेरिका अँगाल्ने त कहिले अमेरिकाको अवसर छोडेर देशसेवा गर्न आएको भन्दै नेपाली जनतालाई गुमराहमा पार्न खोज्ने सातिर ब्यक्तिलाई गृहमन्त्रालय जस्तो ठूलो जिम्मेवारी दिनु उनको महाभुल थियो । यसो गरेर प्रचण्डले धेरैलाई चिढ्याए । त्यस्ता सातिर व्यक्तिको दुष्कर्मको देश-विदेशका संचार कर्मीहरूले आलोचना गर्दासमेत प्रधानमन्त्री रहेका प्रचण्डले आफ्नो स्वार्थको निमित्त उनलाई पुल्पुल्याएर अगाडि बढाइरहे । यसबाट उनका विरोधीहरूलाई कर्म र बचनले चिढ्याइरहन उनलाई अरु उक्साउँदै रमाइलो मान्न थालियो । त्यो अपराधले पनि उनलाई क्षमा गरेन ।
त्यस कर्मको परिणाम आज देखिँदैछ, सजाय आजमात्र हैन अब जिन्दगीभर भोग्नुपर्ने हुन्छ भन्दा अतिरञ्जना ठहरिँदैन । कनिक, कसरी ती अपराधको क्षमा हुने हो- कुनै विकल्प देखिँदैन ।
जब गृहमन्त्री भएका व्यक्तिलाई सहकारीको रकम अपचलन गरेको अभियोग लाग्न थाल्यो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टीले सदन नै बन्द गर्दा पनि उनलाई काँधमा बोक्न नहिच्किचाहेको कारणले पनि नेपाली कांग्रेसले एमालेलाई साथ दिन बाध्य भयो होला । त्यतिखेर जब संसदीय छानबिन समिति गठन हुँदाबखत राजिनामा गर्न भनेको भए सायद प्रचण्ड सरकारले स्थायित्व पाउने थियो ! प्रचण्डले त्यो पनि गराउन सकेनन्, यस्तै-यस्तै कारणले अहिलेको अवस्था निम्तिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको भनाइमा पनि सहकारी ठगीको आरोप खेपेका व्यक्ति नैतिकताको आधारमा गृह मन्त्रालयमा बसिरहन मिल्दैनथ्यो । तर उनका सत्तालिप्सा असाध्यै धेरै देखियो । यसबाट उनका नैतिकता नरहेको जगजाहेर नै भयो । उनको अभीष्ट के छ भन्नेमा व्यापक शङ्का उब्जिएको अवस्था छ । यस्ता पात्रको साथ लिएर आफ्नो कुर्सी जोगाउन खोजेबाट निवर्तमान प्रधानमन्त्री प्रचण्डको समेत नैतिकताको धरातल भासिएको छ ।
प्रतिक्रिया