अनेसासको प्रणय दिवस कविता वाचन

अनेसासको प्रणय दिवस कविता वाचन


लण्डन / प्रणय दिवस अर्थात भेलाइन्टाइन डे, २०१४ फरवरी १४ तारिखको दिन पारेर निर्धारित समय दिनको ठिक तीनबजे प्लमस्टिड, लण्डन स्थित लोकप्रिय स्थानीय नमस्ते रेस्टूरेन्ट पहिलो तल्लाको कक्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले प्रथम प्रणय दिवस कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । बेलायतकै ईतिहासमा पहिलो चोटि प्रणय कविताहरुको रसपान गर्न पाएको पनि यो पहिलो मौका हुन आएको छ । यस कार्यक्रमको संयोजन चिरपरिचित लोकप्रिय उद्घोषिका, सर्जक, संस्थाकी महासचिव लक्ष्मि थापा राई (लारा)ले गरेकी थिईन । सीमित सर्जकहरुलाई निमन्त्रण गरिएको यस प्रणय कविता वाचन कार्यक्रममा संस्थाका अध्यक्ष डा. रुपक श्रेष्ठ तथा उनका पत्नि पार्वती श्रेष्ठ, समाजका सल्लाहकार तथा अनेसास युरोप क्षेत्रका केन्द्रिय उपाध्यक्ष सुमलकुमार गुरुङ तथा उनका पत्नि सारादेवी गुरुङ, संस्थाका सदस्य राजकुमार श्रेष्ठ तथा उनका पत्नि लीना श्रेष्ठ लगायत अन्य कविहरुमा क्रमशः विजय हितान, रेखा खरेल, सुशीला कार्की, रिदिमा थापा तथा नव युवा कवि बिरु दुमी आदि उपस्थित थिए । शुरुमा एकअर्कासित परिचय गरिसकेपछि कार्यक्रम सञ्चालिका लाराले बडो रोचकपूर्ण तरिकाले जोडी भएका तथा जोडी नभएका सर्जकहरुलाई पालैपालो रचनाहरु वाचन गराउँदा माहोल अत्यन्त प्रणयमय बनेको थियो । सबैभन्दा युवा सहभागी बिरु दुमीका मुक्तकबाट शुरु गरिएको प्रणय कविता वाचनमा सबैभन्दा उमेरले पाका सुमलकुमार गुरुङका रोमाण्टिक कविताहरु आफ्नै पत्निलाई समर्पित गरेर वाचन गरेका थिए । त्यसै गरि डा. रुपक श्रेष्ठका प्रथम पटक आफ्नै प्रेयषी अर्थात पत्निलाई सम्बोधन गरेका प्रणय मुक्तक, कवि राजकुमार श्रेष्ठले आफ्नै पत्निलाई समर्पित गर्दै वाचन गरेका मुक्तकहरुले सबैलाई छोएको थियो । कवि सुशीला कार्की घरदेशमा श्रीमानलाई सम्झँदै वाचन गरेकी कविता, रेखा खरेलको प्रेमपूर्ण कविताहरुको नवरस, कवि विजय हितानको पर्यवरणसंग प्रिती गाँसेर सम्मोहन गर्ने कविताहरु, रिदिमा थापाले क्षणमा नै आफ्नै आमा लारे झै कविताको अभिव्यक्ति गर्ने शैलीमा वाचन गरेकी एक टुक्र मुक्तक, लाराले प्रत्येक क्षणको गरिमा बढाउने तत्काल रच्ने मुक्तकहरुका अविरल झरीले चार घण्टा समय बितेको थाह नै भएको थिएन । लगातार सञ्चालन प्रणय कविता वाचनमा उपस्थित सबैले कहि न केहि बोलेका थिए । सारादेवी गुरुङले पनि पति सुमलकुमार गुरुङलाई समर्पित गर्दै मुक्तक सुनाएर आफ्ने मधुरो स्वरमा लोक भाकाको गीत पति लाहुर भएको बेलाको अनुभूति समेट्दै गाएकी गीतले सबैको मनमष्तिश्कलाई केहि समय बाँधेर राख्न सफल भएकी थिईन् । यसरी यसवषर््ाको अनेसास बेलायत च्याप्टर खासगरी लाराले संयोजन गरेकी प्रणय दिवस कविता वाचन अत्यन्त रोचक भएको थियो । अन्तमा फेरी अर्कोवर्ष प्रणयदिवस कविता वाचन गर्ने वाचा सहित सबै विदा भएका थिए ।