गलत धन्दामा रहेर पनि मन्त्री बन्न नपाएकाहरू !

गलत धन्दामा रहेर पनि मन्त्री बन्न नपाएकाहरू !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

हप्ता असुली, गुण्डागर्दी, मानव तस्करीलगायत संगठित अपराधमा लामो समयदेखि सक्रियरूपले संलग्न रहँदारहँदै पनि अझै केही व्यक्तिहरु सांसद र मन्त्री बन्न नपाउनुलाई आश्चर्यजनक मानिएको छ । प्रजातन्त्र स्थापनायता हत्यालगायत विभिन्न प्रकारका अपराधमा संलग्न व्यक्तिहरुको राज मुलुकमा चल्दै आएको छ । र, हप्ता असुली, गुण्डागर्दी, विभिन्न ब्यापार व्यवसायमा माफिया गिरी तथा सङ्गठित अपराधमा संलग्न हुँदै आएका कतिपय व्यक्ति लोकतन्त्र कालमा पटक-पटक सांसद र मन्त्री भइसकेका छन् ।

यसरी मन्त्री हुनेमा मानव तस्करीसमेतको आरोप लागेका मोहन बस्नेत, रोज राणा उर्फ सरोज थापा, मधुकुमार श्रेष्ठ, राजिव गुरुङ उर्फ दीपक मनाङे, प्रदिप यादव, तीर्थ लामा, मीनकृष्ण महर्जनलगायत रहेका छन् ।

तर उस्तै धन्दामा संलग्न केही व्यक्तिहरु सांसद र मन्त्री बन्नबाट बञ्चित रहेका छन् । यसरी बञ्चित बन्नेमा काभ्रेका गणेश लामा, चक्रे भनिने मिलन गुरुङ, राजु गोर्खाली, रमेश बाहुन र दावा लामालगायतका व्यक्तिहरुको नाम लिइन्छ ।

बलात्कारको अभियोगमा कारावासको सजाय भोगिसकेका कृष्णदाश गिरी पनि अहिलेसम्म सांसद र मन्त्री बन्न पाएका छैनन् । ‘बलात्कारी बाबा’ उपमा पाएका उनले काठमाडौं महानगरपालिका-१६, म्हेपीमा रहेको नानक मठ र त्यहाँ रहेको ३२ रोपनी जग्गा कब्जा गर्ने प्रयास गर्दै आएका छन् । सरकारी चिया बगान, ललिता निवास, मातातीर्थ आदि नामका जमिन घोटालामा संलग्नहरू प्रधानमन्त्री, मन्त्री र सांसद भएका हुनाले कृष्णदास गिरी पनि मन्त्री हुनुपर्ने व्यक्तिका रुपमा चर्चामा आएका हुन् ।