बलात्कारआरोपी ‘बाबा’द्वारा गुरु नानक मठ कब्जा : सिख उदासी सम्प्रदाय पूजाबाट वञ्चित

बलात्कारआरोपी ‘बाबा’द्वारा गुरु नानक मठ कब्जा : सिख उदासी सम्प्रदाय पूजाबाट वञ्चित


  • सुरेन्द्र सुवेदी, काठमाडौं

इस्वी सम्वत् १५१५ मा जगतजंग मल्लले स्थापना गरेको गुरु नानक गुठी बलात्कार आरोपमा कारागार सजाय भोगिसकेका साधु सन्त भनिने कृष्णदास गिरीले कब्जा गरेपछि सिख उदासी समुदाय पूजापाठ गर्नबाट समेत वञ्चित हुन पुगेको छ ।

जगतजंग मल्लले यो गुठीलाई १६०० रोपनी जग्गा काठमाडौं महानगरपालिकाका विभिन्न पाँच स्थानमा जग्गा उपलब्ध गराएका थिए । त्यो जग्गामध्ये काठमाडौं-१६, म्हेपीमा हाल ३२ रोपनी ४ आना ३ पैसा जग्गा बलात्कारी बाबा उपमा चिनिने कृष्णदासले कब्जा गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पपछि आफूलाई बस्न समस्या भएको भन्दै केही दिन बस्न पाउनका लागि आफूलाई साधुसन्त बताउने वैष्णव कृष्णदाश गिरीले आएर अनुनयविनय गरको र उनलाई केही दिनका लागि बस्न दिएको गुरु नानक सत्सङ समितिका कार्यकारी अधिकृत तथा उपसभापति रवि सिंहले घटना र विचारलाई बताए ।

मानवीय धर्मका आधारमा बास बस्न नै नपाएको भनिएपछि बस्न दिएको तर गिरीले बिस्तारै मठ नै कब्जा गर्न खोज्दै काठमाडौंका सिखहरुले बनाएको भौतिक संरचना कब्जा गरी अहिलेसम्म बसेर आफ्नो सम्पर्क कार्यालय र भजन मण्डली सञ्चालन गर्दै आएका हुन् ।

गिरीलाई पटक-पटक नानक मठ छोड्न अनुरोध गर्दा पनि उनले छोड्नुको बदलामा गुठी संस्थानका कर्मचारीलाई प्रलोभनमा पारेर सो स्थान कब्जा गरिरहेका छन् । ‘हाम्रा परापूर्वकालदेखि चल्दै आएको भजन, पूजा र प्रसाद वितरणका काम रोकिएका छन्, सिखहरुको सहमतिबेगर नै गैरकानुनी रुपमा उपभोक्ता समिति, सञ्चालक समिति बनाउने कार्य पनि भइरहेको र त्यहाँ भएको वन फडानी गरेर व्यापारिक प्रयोजनको लागि पटकपटक भवन बनाउने प्रयास पनि गरिँदै आएको छ’- मठका सिइओ सिंहको भनाइ छ ।

बलात्कारआरोपित बाबा गिरीलाई कुख्यात क्रसर ब्यवसायीका रुपमा चिनिने नेपाल सरकारका पूर्व सचिव विश्वप्रकाश पण्डितले साथ दिइरहेका बताइन्छ । यी पूर्वसचिव पण्डितका कारण गुठी संस्थानका कर्मचारीले पनि बाबा गिरीलाई साथ दिइरहेको पाइन्छ । गिरी बलत्कार आरोपमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

यो जग्गा खालि गर्न माग गर्दै सिख समुदायले गुठी संस्थानमा निवेदन पनि दिएको छ ।