वीर अस्पतालको अनियमिततामाथि छानबिन सुरु

वीर अस्पतालको अनियमिततामाथि छानबिन सुरु


वीर अस्पतालमा व्यापक अनियमितताका कारण अस्तव्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन सुरु भएको छ । अस्पतालमा आउने सेवाग्राही र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारवाहीका लागि प्रधानमन्त्री कार्यालय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ समिति, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागसमेतमा उजुरी दिएका छन् । त्यसमध्ये सतर्कता केन्द्रले छानविन सुरु गरेको स्रोतको भनाइ छ ।

केन्द्रले पटक-पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरेको थियो । तर, अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन सुरु गरेको केन्द्र स्रोतको भनाइ छ । अख्तियारले पनि वीरसित जवाफ माग गरेको स्रोतले जनायो ।

कर्मचारी समायोजन गर्दा संघमा बस्न फर्जी मेडिकल बोर्डको सिफारिस बनाएर विनादरबन्दी वीर अस्पतालमा टिकाराम पनेरु र युवराज सुवेदी कार्यरत रहेका छन् । अस्पतालमा अनियमित तवरले कर्मचारी भर्ना, मेडिकल स्टोरका पनेरु र सुवेदीले टेन्डरमै स्पेसिफिकेशन नै व्यापारीलाई फाइदा हुने गरि तयार पार्ने र आफूनिकट व्यापारीलाई महँगोमा टेन्डर दिएर कमिसन लिने गरेको आरोप पनि लाग्दै आएको छ । यी दुई कर्मचारीले अनुदानमा आएको समानको बिल बनाएर अस्पतालबाट भुक्तानी लिने गरेको, नियमविपरीत करोडौंका सामान कोटेसनमा खरिद गर्दै आएका र महँगोमा सोफा, कुर्सी, टेवललगायत अनावश्यक सामान खरिद गरी कमिसन असुल्न नपाएका कारण एमआरआई पूर्णरूपमा सञ्चालन नगरेको उनीहरुविरुद्ध आरोप लाग्दै आएको वीरका कर्मचारीहरूको भनाइ छ ।

अस्पताल निर्देशक डा. सन्तोष पौडेलको शैक्षिक योग्यतामाथि प्रतिष्ठान पदाधिकारीबाटै प्रश्न उठाइएको छ । निर्देशक पौडेलले कर्मचारी ऐन, नियमविपरीत दुई-दुई वटा अल्का फार्मेसी र सुमेरु सिटी फार्मेसी सञ्चालन गर्दै आएका छन् । अस्पतालका कर्मचारी नवराज धिताल र बैकुण्ठ लुइँटेलले वीर सहकारी स्थापना र सञ्चालन ट्रमा सेन्टरमा गरेर अस्पतालका कर्मचारीहरुको ३० लाख भन्दा बढी रकम हिनामिना गरेको पनि आरोप छ ।