नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सिसिआई गठन गर्नुपर्ने धारणा अघिसारेकी छन् ।
भारतको नयाँदिल्लीमा बुधबार (७ अगस्ट) आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा ‘आर्थिक सशक्तिकरणको समावेशी सम्बन्ध’ विषयक छलफलमा बोल्दै पूर्वअध्यक्ष राणाले उपरोक्त धारणा राखेकी हुन् । निरन्तर र आर्थिक गतिविधिमा समावेशीकरणका नयाँ उब्जिएका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले महिलाको वित्तमा पहुँच बढाउन, सीप विकास तालिम र शिक्षा, मार्गदर्शन अवसर, सहजीकरण गर्न मिलेर काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
उद्यमी राणाले सीसीआईले नेपाल र अन्य सदस्य राष्ट्रका महिला उद्यमीहरूलाई उनीहरूको व्यावसायिक सीप अभिवृद्धि गर्न, बजार बुझ्न मद्दत गर्न कार्यशाला, सेमिनार र तालिमको व्यवस्था गरिनुपर्नेमा जोड दिइन् । आर्थिक समावेशीकरणका धेरै फाइदाहरू रहेको भन्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील र कार्यस्थललाई थप नवीन बनाउने धारणा उनको थियो । उनले लैङ्गिक समानता कायम राख्दा अर्को वर्षको अन्त्यसम्ममा विश्वको वृद्धिमा १२ ट्रिलियन अमेरिकी डलर थपिने बताइन् ।
सरकार र निजी क्षेत्रका व्यवसायिक निकायहरूलाई महिलाको आर्थिक सहभागितामा रहेका अवरोधहरू हटाउन पहल गर्न सबैलाई आह्वान गर्दै उनले बिमस्टेक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीमा महत्वपूर्ण भूमिका खेल्ने नेपाली उद्यमीहरूलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिन् । उनले बिमस्टेकमा बिमस्टेक सिसिआई गठनले व्यापार र लगानी अवसर वृद्धि गर्न काम गर्ने बताइन् भने बिमस्टेक सीसीआईले आयोजना गर्ने व्यापार मेला, व्यापार मञ्च र लगानी सम्मेलनमा सहभागी भएर नेपाली उद्यमीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न, विदेशी लगानी आकर्षित गर्न र नयाँ बजार खोज्न सकिने पनि उल्लेख गरिन् ।
पूर्वअध्यक्ष राणाले नेपाली महिला उद्यमीहरूको संलग्नता विशेष गरी उल्लेखनीय रहेको जिकिर गर्दै बिमस्टेकले उनीहरूलाई नेटवर्क गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न, र व्यवसायमा महिलाहरूका लागि उपयुक्त स्रोतहरू र प्रशिक्षण कार्यक्रमहरू पहुँच गर्न प्लेटफर्म प्रदान गर्र्ने बताइन् ।
प्रतिक्रिया