आजको पञ्चाङ्ग एवम् राशिफल (३० साउन २०८१ बुधबार, १४ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० साउन २०८१ बुधबार, १४ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण ३० गते तद्अनुसार सन् २०२४ अगस्त १४ तारिख बुधबार श्रावण शुक्ल पक्षको नवमी तिथि ५ः४० पर दशमी तिथि अनुराधा नक्षत्र ८ः५९ पर ज्येष्ठा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ ।

आजको राशिफल

मेष – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सावधान रहनु हितकर होला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने योग छ । नोकरी तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छ । अन्य दृष्टिले दिन राम्रै छ ।

वृष – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ भने नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको योग छ । स्थायी सम्पत्तिमा केही विवाद आउने देखिन्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन् । टाढिएका आफन्तसँग पुनर्मिलन हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ ।

मिथुन – मंगलमय कर्म सम्पादन तथा सामाजिक दायित्ववहनमा दिन गुज्रनेछ । बौद्धिक पक्षमा लाभ मिल्ने देखिन्छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । आजको दिन सवारीसाधन एवम् हातहतियारको प्रयोग विशेष सावधानीसाथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने योग छ ।

कर्कट – केही चुनौतीयुक्त समय छ । आजको दिन घर-जग्गा तथा सम्पतिसम्बन्धी विषयमा विवाद पर्नसक्ने योग रहेकोले यस्ता मामलामा सचेत रही व्यवहार गर्नु उचित होला । मातृ-स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

सिंह – परोपकारका कार्य गरिने एवम् व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुने समय छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इगो प्रदर्शन गर्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण प्राप्त भएको अवसरसमेत गुम्न सक्छ । खानपानमा विशेष सजग रहनु हितकर होला ।

कन्या – काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । विद्यार्थी वर्गको लागि विशेष प्रगति होला । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने योग रहेको छ ।

तुला – शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । सहयोगीको राम्रो साथ मिल्ला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, तर घरमा सामान्य मनमुटाव हुने देखिन्छ । तपाईंको काममा अरूले अधिकार जमाउने चेष्टा गर्नसक्छन् । केही दण्ड-जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण बस्तु गुम्ने योग छ, सचेत रहनुहोला ।

वृश्चिक – परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिने समय छ । आयआर्जनमा कमी आउने तथा घरखर्च बढ्ने देखिन्छ । अनावश्यक खर्च र ऋणभार बढ्ने योग रहेकोले सावधान रही व्यवहार गर्नुहोला । स्वास्थ्यसम्बन्धी समस्याले केहीमात्रामा सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । कठोर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

धनु – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । नोकरीमा पदोन्नति, व्यापार-व्यवसायमा फाइदा हुने योग छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम बिग्रन सक्छ ।

मकर – धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रशन्नता मिल्नेछ ।

कुम्भ – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योग छ । बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, सजग रहनुहोला ।

मीन – निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीको तुलनामा न्यून उपलब्धि हासिल हुने समय भएपनि आजको दिन विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइएला । अरूको उक्साहटमा लाग्नाले हानी हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ, सचेत रहनुहोला ।