गल्ती कोबाट हुन्छ ?

गल्ती कोबाट हुन्छ ?


हिजोआज सामाजिक सन्जालमा कसैले गरेका स-साना गल्तीमा पनि अपराधीलाई झैँ झम्टिने गरिएको छ । गल्ती मानवीय त्रुटी हो, सच्याउन सकिन्छ । तथापि, कतिपय गल्तीहरू चाहेर पनि सच्याउन गाह्रो हुन्छ । विशेषगरी मानिसले आफ्नो ब्यक्तिगत जीवनमा गरेका गल्तीहरू, जसले अरुलाई भन्दा बढी आफैलाई हानी पुऱ्याइरहेको हुन्छ । अपराधले अरुलाई हानी पुऱ्याउँछ, ब्यक्ति, समाज, देश कुनै पनि तहमा हानी पुऱ्याउने क्रियाकलाप हुनसक्छन् । गल्ती र अपराधलाई छुट्ट्याएर हेर्नुपर्ने हो तर हामीकहाँ गल्ती गर्ने मानिसलाई पनि अपराधीलाई झैँ लेख्ने, बोल्ने, ट्रोल गर्ने गरिएको छ ।

कतिपय मानिस कसले, कहाँ, कतिबेला गल्ती गर्छ र प्रहार गरुँ भनेर बसिरहे झैँ पनि लाग्छ कहिलेकाहीँ । काम गर्ने मानिसले गल्ती गर्छन्, केही गर्दै गरेका मानिसहरूबाटै गल्तीहरू हुन्छन् । गल्ती नगर्नका लागि त घरबाट निस्कन भएन, केही गर्नै भएन । घरमै पनि काम गर्नेहरूबाटै हो गल्ती हुने । खानेकुरा पकाउँदा नुन तल-माथि हुने पनि बनाउनेहरूकै कारणले हो, खाना नबनाउनेबाट नुन चर्को या मलिनो कहिल्यै हुँदैन । गल्ती बोल्नेहरूबाट हुन्छ, गल्ती लेख्नेहरूबाट हुन्छ, भाषाको प्रयोगमा, बोलीचालीमा, विभिन्न क्षेत्रका फरक-फरक अभ्यासमा, प्राविधिक काममा, ब्यक्तिगत जीवनमा, ब्यवसायिक जीवनमा जतापनि हुनसक्छ । मात्रा धेरै-थोरै हुनसक्छ तर गल्ती सबैबाट हुन्छ ।

मानिसको जीवनमा परिपक्वता आउँदै जाँदा विगतमा आफूबाट कहाँ-कहाँ कस्ता गल्ती भएका थिए भन्ने महसूस हुन्छ । ब्यक्तिगत जीवनका कतिपय गल्ती सच्याउन नसक्ने या सच्याउन गाह्रो हुने खालका पनि हुनसक्छन् । जसलाई जिन्दगीको एउटा मोडमा पुगेर पश्चाताप गर्नुभन्दा त्यो समय नै त्यस्तै थियो भनेर बिर्सनुपर्ने हुन्छ । असफलताबाट मानिसले धेरै कुरा सिक्छ, चाहे त्यो ब्यक्तिगत जीवनसँग सम्बन्धित हुन या ब्यवसायिक जीवनसँग सम्बन्धित । गलत मान्छेसँगका प्रेम, विवाह, संगत सबै गल्ती हुन् । यद्यपि मानिस आफैमा सही र गलत हुँदैन, समय परिस्थिति र कुलतले उसलाई गलत बनाइरहेको या बनाइदिएको हुन्छ । हामीले सबै गल्ती आफैले गरेर सम्भव छैन, अरुको गल्तीबाट सिकौँ भनेर त्यसै भनिएको होइन ।

कुनै पनि कुराका लागि हामीलाई हाम्रो माइण्डले निर्देश गरिरहेको हुन्छ । माइण्डलाई जसरी ट्रेण्ड गऱ्यो त्यसैगरी अगाडि बढ्छ, सकारात्मक कुरा सोच्दै गयो भने सकारात्मक हुँदै जान्छ । नकरात्मक कुरा बढी खेलायो भने नकारात्मक हुँदै जान्छ । राम्रा-राम्रा कुरा मन र मष्तिष्कमा खेलाउने हो भने आफूवरिपरिको संसार राम्रो लाग्न थाल्छ । सामाजिक सन्जालमा कतिले आलोचनामात्रै गर्ने गरेको देखिन्छ । त्यही ब्यक्तिले राम्रो गरेको प्रशंसा नगर्ने तर अलिकति तलमाथि भयो भने आलोचना सुरु गरिहाल्ने !

सामाजिक सन्जालमा आउने गरेका आलोचना र ट्रोलका कारण कतिपय मानिसहरू बोल्न डराउन थालेका छन् । उदाहरणका लागि कतिपय महिला सांसदहरूले बोलेका कुरालाई लिएर गरिएका ट्रोलले धेरै महिला सांसदहरूलाई मैले बोल्दा बिग्रिने हो कि, नमिल्ने हो कि, मानिसहरूले मलाई पनि सामाजिक सन्जालमा खिसीट्युरी गर्ने हुन् कि भन्ने लाग्ने रहेछ । हाम्रो संविधानले समोवेशितालाई अङ्गिकार गरेको छ । कति सांसदहरूले पढ्न पाउनुभएको छैन होला तर आफ्नो ठाउँको दुःख के हो थाहा छ, लेख्न जान्नुहुन्न होला तर विषय के हो थाहा छ । आफ्ना गाउँ-ठाउँका आवश्यकता राख्न सक्नुहुन्छ । अलिकति भाषा तलमाथि हुँदैमा ट्रोल गरिहाल्नु पर्दैन । उहाँहरूले बोल्नुभएको थियो त्यसैले गल्ती भयो, केही नबोली चुपचाप बस्नुभएको भए गल्ती हुने थिएन । आफ्नो कार्यकालको पूरै अवधि केही नबोली चुपचाप बसेर गल्ती नगर्ने सांसदहरूको सङ्ख्या ठुलो छ र त्यो सङ्ख्या महिलाको भन्दा पुरुषको बढी छ ।

अहिले एकजना सांसदले ‘एसइइ’ भन्न नजान्दा संसार नै सकिएझैँ गरी ट्रोल गरिएको छ । एसइइ पछि आएको शब्द हो, उहाँको पालामा एसएलसी भन्ने गरिन्थ्यो, भन्न गाह्रो भयो, भएको यति नै हो । उहाँले भन्न खोजेको कुरा ‘एसइइमा यति धेरै विद्यार्थी किन फेल भए ?’ भन्ने थियो, जुन प्रश्न जायज थियो । यसको कारण खोजुँ भन्ने उहाँको आशयलाई त्यति धेरै उडाइरहनु जरुरी थिएन । यसअघि पनि कर्णालीकी एक सांसदको बोल्ने तरिकालाई लिएर यसरी उडाइयो कि कतिले त्यसपछि बोल्न मन लागेर पनि बोल्न नसक्ने परिस्थिति बन्यो । हामी सबैको फरक-फरक पृष्ठभूमि छ, हाम्रो भाषा फरक छ, लवज फरक छ, बुझाइको स्तर पनि फरक छ । कतिपय अवस्थामा शब्द चयनभन्दा आशय महत्वपूर्ण हुन्छ । उसले भन्न खोजेको के हो ? भन्ने थाहा पाएर पनि हामी थाहा नपाए झैँ गर्छौं र हँसिमजाक बनाइदिन्छौँ ।

आफ्ना साथी तथा नजिकका मानिसको गल्ती उसको अगाडि भन्नु र प्रशंसाचाहिँ उसको पछाडि गर्नु भन्ने छ । तर, हामी अघिल्तिर ‘तिमी गज्जब’ भनिदिन्छौँ र पछिल्तिरचाहिँ धेरै कुरा भन्न भ्याउँछौँ । पहिला-पहिला भए मानिसहरू जम्मा पारेर कसैको कुरा काटिन्थ्यो, हिजोआज कुरा काट्ने ठाउँ पनि सामाजिक सन्जाल नै बनेको छ । राम्ररी चिन्दैनचिनेको मान्छेले पनि यो यस्तो, त्यो त्यस्तो भनेर लेखिरहेको हुन्छ । गाली खान गल्ती गरिरहनुपर्ने अवस्था पनि छैन । आफू सही हुँदाहुँदै सामाजिक सन्जालमा गाली खाने मानिसको सङ्ख्या ठुलो छ । सामान्यतया गल्तीबाट मान्छेले पाठ सिकिरहेको हुन्छ । यसपल्ट यस्तो भयो अर्कोपल्ट यस्तो गर्छु ! गल्तीको अनुभवले मानिसले आफूलाई परिमार्जन गरिरहेको हुन्छ ।

कुनै पनि मानिस आफैमा कहिल्यै पनि सर्वगुण सम्पन्न हुँदैन । कसैको गल्तीको सूची बनाएर या केलाएर बस्नुभन्दा आफूले गरेका गल्तीहरूको पुनरावलोकन गर्न सकियो भने जीवनलाई फरक धारमा हिँडाउन सकिन्छ । चाणक्यको भनाइमा ‘जीवन बाँसुरीजस्तै छ, जहाँ ठाउँ-ठाउँमा प्वालहरू छन्, बजाउन जान्यो र पटक-पटक कोशिस गऱ्यो भने तिनै प्वालबाट मिठो धुन निस्किन्छ, जानेन भने आफ्नो सासको बल नाश हुन्छ ।’ बाँसुरीको प्वालबाट मधुर ध्वनी निस्किएजस्तै जीवनका छिद्ररूपी गल्तीहरूबाट ठुला-ठुला अनुभव र पाठ सिक्न सकिन्छ, जसले जीवनलाई परिपक्वतातिर धकेल्छ ।

यदि कसैले मैले गल्ती नै गरेको छैन भन्छ भने उसले जीवनमा केही नयाँ कुरा गर्न कोशिस नै गरेन भनेर बुझ्नुपर्ने हुन्छ । पश्चिमेली एउटा भनाइ छ, ‘किनारामा राखिराख्यो भने जहाज डुब्दैन ।’ हामी पनि नबोली, नलेखी या केही नगरी बस्यौँ भने सामाजिक सन्जालमा औंल्याइने गल्ती गर्दैनौँ । केही गर्दै सिक्दै अघि बढ्ने या ‘आ… कसले फेरि के लेखिदेला… के भन्ला…’ भनेर चुपचाप बस्ने आफ्नै हातमा छ । त्यसैले काम गर्दै जाँदा अरुलाई जोखिममा नपार्ने खालका गल्तीलाई लिएर अपराधीलाई झैँ ब्यवहार नगरौँ । कसले अङ्ग्रेजी बोल्न जानेन, कसको जिब्रो लट्पटियो, कसले के लेख्यो त्यसैको पछि लाग्नुभन्दा आफूले के लेखिराछु, के बोलीराछु, के गरिराछु, मैले गरेका कामले, दिएको सन्देशले कतिलाई जीवन बाँच्न सहज भएको छ आफ्नै हिसाबकिताब गरौँ । आफूले राम्रो गर्न थालेपछि सहयोगी हातहरू आफै अगाडि आउँछन । असल आत्माहरूले खोजी गर्न थाल्छन्, आफूवरिपरिको माहौल रमाइलो हुन थाल्छ ।

यो संसारमा जे कुरा सित्तैमा पाइन्छ, त्यसलाई हामी खासै मतलब गर्दैनौँ, त्यसको महत्वको बारेमा न चर्चा गर्छौ न त त्यसप्रति नतमस्तक नै हुन्छौँ । हावा, पानी, घामलगायतका कुरासँगै निकटवर्तीहरूको साथ पनि यसैभित्र पर्छ । कुनै पनि मानिस आफू राम्रो र असल बन्नुका पछाडि तमाम गल्तीबाट सिकेका पाठहरू साक्षी हुनसक्छन् । कोही पनि मानिस आफैमा ‘पर्फेक्ट’ छैन/हुँदैन, सिक्दै जाने हो । कसैका सामान्य गल्तीलाई लिएर जिन्दगीमा उठ्नै गाह्रो हुने गरी बसाउने काम नगरौँ । आपराधिक क्रियाकलाप र मानवीय गल्ती फरक कुरा हुन् । कसैले गरेका सामान्य गल्तीलाई सामाजिक सन्जालमा अनावश्यक खिसिट्युरी र ट्रोल गर्दैगर्दा त्यो ठाउँमा आफूलाई राखेर हेरौँ । गल्ती त्यही मान्छेबाट हुन्छ जसले केही गरिरहेको छ ।