कमला सिंचाइ प्रणाली : २५ हजार हेक्टरमा ४० हजार परिवार लाभान्वित

कमला सिंचाइ प्रणाली : २५ हजार हेक्टरमा ४० हजार परिवार लाभान्वित


पृष्ठभूमि

नेपालका ठूला र पुराना सिंचाइ आयोजनामध्ये कमला सिंचाइ आयोजना पनि एक हो । २०१७ साल कार्तिक २६ गते तत्कालीन सिंचाइ मन्त्री गणेशमान सिंहले सिलान्यास गरेर यसको निर्माण सुरु भएको थियो । आन्तरिक श्रोतबाट निर्माण सुरु गरिएको तथा निर्माणताका विभिन्न राजनीतिक संकटमा मुलुक गुज्रिएकोले यसको निर्माण सम्पन्न हुन लामो समय लाग्यो । बीच-बीचमा निर्माण कार्य हुँदै रोकिँदै अधुरो अवस्थामै यस योजनाले २०४० सालदेखि सिंचाइ सुविधा उपलब्ध गराउन थालेको हो । यस कार्यालयले पश्चिमी नहर प्रणालीमार्फत धनुषा जिल्लाको १२ हजार ५०० हेक्टर (६ नगरपालिका र २ गाउँपालिका) हाल गणेशमान चारनाथ, सवैला, शहिदनगर, विदेह, कमला र हँसपुर नगरपालिका तथा औरही. र जनकनन्दनी गाउँपालिका र पूर्वी नहर प्रणालीमार्फत सिरहा जिल्लाको १२ हजार ५०० हेक्टर (५ नगरपालिका र ३ गाउँपालिका) कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा, र सुखिपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका गरी कूल २५ हजार हेक्टर खेती योग्य जमिनमा सिंचाइ सुविधा पुऱ्याउने उद्देश्य राखेको छ ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युमेक तथा लम्बाई १४ दशमवल ३ किलोमिटर रहेको छ । जसअन्तर्गत ४ वटा शाखा नहर रहेका छन् । त्यसैगरी कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युमेक तथा लम्बाई ३१ दशमलव ६ किलोमिटर रहेको छ । जसअन्तर्गत ८ वटा शाखा नहर रहेका छन् ।

कार्यान्वयनमा रहेका कार्यक्रम र आव ०८०/८१ का प्रमुख उपलब्धि

कमला सिंचाइ व्यवस्थापन कार्यालयअन्तर्गत रहेको यस कमला सिंचाइ प्रणालीअन्तर्गत मर्मत संभार आयोजनाहरु र बृहत सरकारी सिंचाइ योजनाको पुनस्र्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी दुईवटा कार्यक्रम संचालनमा रहेका छन् । यसै कार्यक्रमअन्तर्गत रहेर कमला सिंचाइ प्रणालीको हेडवक्र्स, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत संभार तथा संरचना निर्माणको कार्यहरु हुने गर्दछ ।

आव २०८०/८१ मा यस कार्यालयबाट कमला नदीमा रहेको बाँध (Headworks) को मर्मत संभार कार्यअन्तर्गत पूर्वी तथा पश्चिमी अन्डरस्लुइस तथा वेयरको ४ वटामध्ये दुईवटा वेयर पोर्सनको मर्मत संभार कार्य सम्पन्न भइसकेको छ । त्यसै गरी कमला हेडवक्र्सको पूर्वी तथा पश्चिमी बाँधमा बाढीबाट भएको कटानको पश्चिमतर्फ Slope Revetment-133m तथा Toe wall-139m र पूर्वतर्फ Launching & Gabion Wall-175 m, Toe wall-54m, Spur-1 nos., Stud-8 nos. निर्माण गरी मर्मत सम्भार कार्य सम्पन्न भएको छ । कमला सिंचाइ पूर्वी तथा पश्चिमी नहर प्रणालीअन्तर्गत १ हजार १० मिटर नहर लाइनिङ्ग, ३ दशमलव १५ किमी सर्भिस रोड मर्मत, ३ वटा VRB, ३ वटा Box Culvert, ४ वटा Road Crossing, ३ वटा Division Box, ८ Drop Structure, १८९ मिटर रिटेनिङ्ग पर्खाल, १९० मिटर संरचना बचावट (खाली बोरामा माटो भरी) कार्य, १८० मिटर नहर संरक्षण कार्य, १ वटा गेट जडान कार्य सहितका अन्य मर्मत संभार कार्य भएका छन् ।

कमला सिंचाइ प्रणालीमा जल उपभोक्ता संस्थाको संस्थागत विकास

जलस्रोत तथा सिंचाइ विभाग, सिंचाइ व्यवस्थापन महाशाखा, जावलाखेलबाट मिति २०७९ पुस २० र २१ गते चितवन जिल्लाको सौराहामा राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ, कार्यालय प्रमुख तथा संस्थागत शाखा प्रमुख, जिल्ला जल उपभोक्ता समिति महासंघ प्रतिनिधि सम्मिलित जल उपभोक्ता संस्थाको गठन तथा रणनितिक कार्य योजना तयारी विषयक अन्तरकृयात्मक गोष्ठिमा तयार गरिएको कार्य योजनाअनुसार राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ, जिल्ला कार्य समितिले गठन गरेको तदर्थ समितिले विभिन्न समयमा गरेको बैठकको निर्णयअनुसार सिंचाइ सेवा शुल्क संकलन, लगत तयारी, निर्वाचन कार्यविधि तयारी साथै संस्थाको विद्यान तयार गरी तदर्थ समितिले मिति २०८० जेठ २७ मा ५ सदस्यीय निर्वाचन उप-समिति गठन गरिएको थियो ।

तदर्थ समितिको स्पष्ट निर्देशन, निर्वाचन कार्यविधि, शाखा/प्रशाखा नहरको विवरण र त्यसमा गठन गर्नु पर्ने उपसमितिको संख्या र निर्णयलाइ आधार वनाउदै निर्वाचन उपसमिति तथा तदर्थ समितिलाइ मिति २०८० असार ७ र ८ गते कार्यालयले गरेको अन्तर्कृयात्मक छलफलमा निर्वाचन प्रक्रिया, समिति सदस्यको भुमिका र सूचना प्रकाशन एवं शान्ति सुरक्षाको व्यवस्थामा छलफल गरि मिति २०८० असार १० को निर्वाचन उपसमितिको निर्णयअनुसार २०८० असार १४ बाट कमला सिंचाइ पश्चिमी नहर प्रणालीको परवाहा शाखावाट प्रशाखा गठन कार्य शुरु गरिएको थियो ।

निर्वाचन उपसमितिले सबै उपभोक्ता कृषकहरुलाई जानकारी र जल उपभोक्ता समिति गठनमा सहभागी गराउन सूचनाहरुको व्यापक प्रचार प्रसार, माइकिङ्ग जस्ता प्रक्रिया अपनाइ उपभोक्ता समिति प्रशाखा समितिको गठन कार्य गरिएको छ । तदर्थ समितिले दिएको निर्वाचन निर्देशिका अनुसार २ पटकसम्म सर्वसम्मत प्रणालीबाट गठन कार्य गर्ने व्यवस्था भएकोमा केही प्रशाखाहरुमा २ पटकमा समेत प्रशाखा समिति गठन हुन नसकेका प्रशाखालाइ पुनः एक पटक समय दिएर प्रशाखा समिति गठन गर्दा ५५ वटा प्रशाखा/उपशाखा समिति गठन गरि २०८० माघ २५ बाट शाखा समितिको गठन शुरु गरि २०८० चैत २ गते ४ वटा शाखा समितिको गठन गरि २०८० चैत ५ मा कमला पश्चिमी मुल नहर जलउपभोक्ता समिति गठन गर्ने कार्य सम्पन्न भएको छ ।

निर्वाचन उप-समितिबाट विभिन्न मितिमा गरी मूल समिति-१, शाखा समिति-४, प्रशाखा समिति-५५ गरी समितिमा आवद्ध जम्मा पुरुष ३ सय ५४, महिला २ सय १३ सहित कूल संख्या ५ सय ६७ जना निर्वाचित भएका छन् । यसरी मूल, शाखा र प्रशाखा समितिको पूर्ण रुपमा २६ वर्षपछि निर्वाचन सम्पन्न भएको हो ।

कार्यालयको काम, कर्तव्य र अधिकार

कमला सिंचाइ प्रणालीबाट सिरहा तथा धनुषा जिल्लाका लगभग २५ हजार हेक्टर क्षेत्रफलको कृषियोग्य भूमिमा सतह सिंचाइ (नहर) मार्फत सिंचाइ सुविधा प्रदान गर्दै आइरहेको छ ।

सारांशमा

कमला सिंचाइ आयोजनाले २५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा प्रदान गरी ४० हजार घरधुरीका कृषकलाई लाभान्वित गरेको छ । कार्यालयको कमाण्ड क्षेत्रहरु धनुषाको पूर्वी भेग र सिराहा जिल्लाको केही जमिन नदीको बहाबका कारण बगरमा परिणत भएको स्वयं किसानहरुको भनाइछ । यस कार्यालयको निर्माणपछि नदी पूर्णरुपमा नियन्त्रित अवस्थामा रहेका कारण खेतिपातीमा बृद्धि भएको छ । जसबाट किसानहरुको आय आर्जनमा सुधार भै जिवनस्तरमा परिवर्तन आएको देखिन्छ । यस आयोजनाको निर्माण पूर्व सिराहा तथा धनुषाका कृषकहरु आकाशे पानीको भरमा कृषि गर्दथे । जसका कारण अन्न उत्पादन कम हुन्थ्यो । सिंचाई सुविधाका कारण उत्पादन बढ्नुको साथसाथै एक पटकमात्र उत्पादन हुने कृषि बालीको ठाँउमा २ देखि ३ बालीसम्म कृषि उपजको उत्पादन सम्भव भएको छ ।

कृषकहरु तरकारी तथा अन्य नगदेबालीतर्फ आकर्षित भएका छन् । जिल्लाको औषत उत्पादकत्व ३ दशमलव २१ मेट्रिक टन प्रति हेक्टर (धान बाली) रहेको छ भने २०८०/८१ मा यस सिंचाइ प्रणालीको उत्पादकत्व ४ दशमलव १३ मेट्रिक टन प्रति हेक्टर (धान बाली) रहेको छ । यस बाट सिंचाइ सुविधाले पुर्याएको योगदान सहजै अनुमान गर्न सकिन्छ र सिंचाइको महत्वसमेत प्रष्ट हुन्छ ।