बहरबाट दुधको आश !

बहरबाट दुधको आश !


एकादेशमा एउटा गाउँ रैछ । त्यो गाउँमा जन्मेको बाच्छो गाउँ छोडेर ठूलो शहरमा गएको रैछ ! शहरमा बस्न-टिक्न गाह्रो भएपछि उसले आफू जन्मेको गाउँसँग सबै नाता तोडेको भन्दै आफू त्यसै शहरको भएको बताउन थालेको रैछ ! तर, बाच्छाबाट बहर भैसकेको उ शहरमा आफ्नो उद्ण्ड स्वभावको कारणले टिक्न गाह्रो हुन थालेपछि लामो समयको अन्तरालपछि फेरि गाउँमा फर्केर आएछ !

ठूलो शहरमा लामो समय बसेकोले अलि झिल्के देखिएको त्यो बहरले गाउँमा आएर अन्य बहरभन्दा बेग्लै आवाज र लवजमा बोल्ने गरेको देखेपछि त्यस गाउँका कतिपय सोझासिधा गाउँलेलाई यो त चमत्कारी बहर पो हो कि भन्ने लाग्न थालेछ अनि उसको गुणगान नै गाउन थालेछन् ।

अनि त्यस गाउँमा दूध दिने प्रायः सबै गाई थारो भएको र, गाउँमा दुधको एकदम अभाव भएको थाहा पाएर त्यो बहरले आफूलाई सबै गाउँलेले राम्रोसँग राखे आफूले त्यो गाउँलाई पुग्ने छेलोखेलो दूध दिने भन्न थालेछ । कतिपय गाउँलेलाई ‘बहरले पनि कहिल्यै दूध दिन्छ र ?’ भनेर उसको यस कुरामा विश्वास नलागे पनि कतिपय सोझा गाउँलेलाई चाहिँ त्यो बहरको बेग्लै आवाज र लवजले गर्दा ‘होइन, यो दूध दिन सक्षम बहर हो !’ भन्ने लाग्न थालेछ ।

बहरले दूध दिन्छ भन्ने आशमा बसेका गाउँलेलाई फकाउने क्रममा त्यो बहरले आकाश पातालको बहाना बनाउने, अनेक गफ दिने क्रम जारी राखेछ र एकदिन ‘मलाई बस्ने राम्रो ठाउँ नभएकोले पो दूध दिन नसकेको त, बस्ने राम्रो ठाउँ मात्रै पाउँ न.. म दुधको नदी नै बगाइदिन्छु’ भनेछ । कतिपय गाउँलेले हाम्रा गाउँका प्रायः सबै गाई थारो भएर दूध दिँदैनन् यो सत्य हो । तर, बहरले दूध दिन्छ भनेर त नपत्याओ न हो भन्दा पनि नमानेर कतिपय सोझा गाउँलेले उल्टै बहरको कुरा पत्याउँदै केही थारो गाईलाई पन्छाएर सम्मानसहित त्यो बहरलाई ठूलो गोठमा लगेर राखेछन् ।

गोठमा बसिसकेपछि पनि आज दूध देला छैन, भोलि दूध देला छैन ! अनि त्यो बहरचाहिँ घरी गोठमा लामखुट्टेले टोकेको कारणले दूध दिन नसकेको घरी गोठमा गोबर गन्हाएकोले दूध दिन नसकेको… आदि बहाना बनाउन थालेछ । आफूहरुलाई गोठबाट पन्छाएर अन्यत्रै बाँधिएको रिसमा भएका थारो गाईहरूले एकदिन फेरि आफूलाई बाँधिएको दाम्लो चुँडाएर त्यही गोठमा बस्न आएपछि त्यो बहर त्यहाँ नअटाएर निस्किनु परेछ । सोझा गाउँलेलाई अन्य गाउँलेले सम्झाउन खोजेछन्- ‘हो, हाम्रा गाउँको प्रायः सबै गाई थारो भए, तर थारो गाईको विकल्प बहर हुनै सक्दैन । अब हामीले दुधारु गाई ल्याएर पाल्नुपर्छ, अनिमात्रै हाम्रो गाउँको दुधको समस्या टर्छ ।’

तर, त्यो बहरले सोझासिधा गाउँलेलाई ‘मैले ठ्याक्कै दूध दिने बेला भएको थियो, मैले यो गाउँलाई छेलोखेलो हुने दूध दिएँ भने थारो गाईको महत्त्व घट्छ र उनीहरुलाई कसैले घाँसपात समेत हाल्दैनन् अनि गोठबाट समेत लखेटछन् भनेर थारो गाईहरूले दाम्लो चुँडाएर आइ मलाई गोठबाट लखेटेका हुन् भनेछ । सोझासिधा गाउँलेले फेरि उसको कुरा पत्याएर उल्टै अन्य गाउँलेलाई ‘ठ्याक्कै दूध दिने बेलामा थारो गाईले गोठ कब्जा गरेपछि बिचरा बहरले कसरी दूध देओस् त’ भनेर बहरको पक्षमा तर्क गर्न थालेछन् । अन्य गाउँलेले ती सोझासिधा गाउँलेलाई धेरै सम्झाउन खोजेछन् कि ‘त्यो बहरले धेरै बालिनाली नोक्सान गरिसकेको छ, कतिपय किसानको बिचल्ली भएको छ । यसरी नोक्सान गर्ने बहरले दूध दिएर गाउँको समस्या टार्छ भनेर कसरी विश्वास गर्ने ?’ तर फेरि बहरले ‘त्यो बाली नोक्सान गरेको म यो गाउँमा आएपछि मेरो साथी बनेको साँढेले हो, मैले होइन । तर त्यो साँढे र म केही समय सँगै बसेको र सँगै हिँडेकोले मात्रै दोष मलाई लागेको हो । त्यो साँढे बाली नोक्सान गरेर यो गाउँबाट भाग्यो’ भनेछ । सोझासिधा गाउँलेले फेरि त्यो अन्य बहर भन्दा बेग्लै आवाज र लवजमा बोल्ने झिल्के बहरको कुरा पत्याएर अन्य गाउँलेसँग ‘बाली खाएको, किसानको नोक्सानीको गरेको त बहरको साथीले पो रैछ । त्यसमा यस्तो राम्रो हामीलाई दूध दिएर गाउँको समस्या टार्छु भन्ने बहरको के दोष ?’ भनेर विवाद गर्न थालेछन् ।

त्यो बहरले छेलोखेलो दूध दिन्छ, दिन्छ अनि टन्न दूध खाने दिन आउँछ भनेर विश्वास गर्ने गाउँलेको भरोसा जितेर त्यो बहर सोझासिधा गाउँलेलाई बेबकुफ बनाउन सकेकोमा दङ्ग परेर साँढे बनेर हिँडेको छ ।

त्यस गाउँका अन्य गाउँले अहिले दोहोरो मारमा परेका छन् । एकातिर थारो गाईहरूले गोठ कब्जा गर्दा दुधको थोपा पाइन छोडेको छ भने अर्कोतिर ती थारो गाई पन्छाउँदा पनि त्यस्ता बहरले गोठ कब्जा गर्ने डर छ । अनि, दूध नपाएर कुपोषण हुने डरले कतिपय युवा गाउँलेहरू विभिन्न शहरतर्फ पलायन हुनथालेका छन् भने बाँकी गाउँले कुनै दिन त यी थारो गाई मर्लान् अनि दुधारु गाई जन्मेलान् र टन्न दूध खान पाइएला भन्ने झिनो आशमा बाँचेका छन् ।

तर, त्यसै गाउँका सोझासिधा गाउँले चाहिँ अझै पनि बहरले दूध दिन्छ अनि टन्न दूध खाने भन्ने विश्वास अन्य गाउँलेसँग बहरको पक्षमा तर्क र विवाद गरिरहेका छन् । …