आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०८१ मंगलबार, २० अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०८१ मंगलबार, २० अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ४ गते तद्अनुसार सन् २०२४ अगस्त २० तारिख मंगलबार भाद्र कृष्ण प्रतिपदा तिथि धनिष्ठा ७ः४३ पर शतभिषा नक्षत्र अतिगण्ड योग बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३५ मा हुनेछ । आज गाइजात्रा ।

आजको राशिफल

मेष – समय शुभदायी छ । समस्या पर्दा साथ दिनेहरू बढ्नेछन् भने मान-प्रतिष्ठा पाइनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला । दौडधुप बढेपनि समय फजुल खेर नजाने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – इच्छाशक्ति बढ्ने तथा रचनात्मक कार्य आरम्भ गर्न सकिने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलोे रहने देखिन्छ । स्वास्थ्य केही प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिएला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्ने योग रहेकोले सावधानीपूर्वक यससम्बन्धी व्यवहार गर्नुहोला । पुराना समस्या दोहोरिन सक्छन् । आजको दिन पढाइलेखाइमा खासै समय दिन नसकिएला । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन काममा रोकावट र कममात्र फाइदा हुने प्रवल सम्भावना छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने देखिन्छ, सचेत रहनुहोला । आर्जित धन तत्काल खर्च हुन सक्छ । पशुधन र जमिनबाट भने सामान्य लाभ उठाउन सकिनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । प्रतिकुलताका बाबजुद समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – केही जोखिम बढेपनि रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – उद्योग-व्यापारमा विशेष फाइदा हुने एवम् प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ ।सुखद समाचार सुन्न पाइएला । दिन उत्साहपूर्ण रहने देखिन्छ । स्वास्थ्य सबल रहनेछ र विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुर्ला । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।

कन्या – प्रेमभाव वृद्धि हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषिकार्यमा केही समस्या देखिए पनि अन्य माध्यमबाट राम्रै धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीमा भने समस्या आइपर्ने तथा पहिलेको सम्झौता भंग हुन सक्ने देखिन्छ, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुने देखिएपनि बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । नियमित कार्यबाट नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुने समय छ । विशेष योजनामा सक्रिय हुनुहन्छ भने सफलतापूर्वक सम्पन्न हुने योग छ ।

वृश्चिक – मनमा केही त्रासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले पुनः उत्साह जगाउने योग छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । आरोग्यता रहला ।

धनु – कार्यसम्पादनको क्षमता वृद्धि हुने र नियमित कार्यमा विशेष गति मिल्ने समय छ । प्रयत्नका बाबजुद केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा भने विशेष ध्यान राख्नुपर्नेछ । पराक्रम बढ्नेछ ।

मकर – आजको दिन मिश्रित फलदायी रहने देखिन्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने परिवारजनसँग आत्मीयता वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने र गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । सामान्य गल्तीमा पनि अपजशको भागीदार बन्नुपर्ने सम्भावना रहेकोले अत्यन्त सावधानीपूर्वक व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ – आजको दिन परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने तथा अरूको फाइदाका लागि उपयोग भइने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा समेत परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीका कारण भने दुःख पाइने योग छ । पुरानो समस्याले केही झमेला दिलाउन सक्छ । आफन्तको साथ मिल्नेछ । विलासी कर्म बढ्नेछ ।