स्मृतिमा प्रदीप गिरी : समाजवादी दर्शनको युगपुरुष

स्मृतिमा प्रदीप गिरी : समाजवादी दर्शनको युगपुरुष


प्रदीप गिरी, नेपाली समाजवादका एक अग्रणी व्यक्तित्व र दार्शनिक, हाम्रो बीचबाट बिदा भएको धेरै समय भएको छैन । उहाँले आफ्नो सम्पूर्ण जीवन नेपाली राजनीति र समाजको उत्थान र प्रगतिका लागि समर्पित गर्नुभयो । उहाँको विचारधारा र आदर्शहरूले नेपाली राजनीति र समाजमा एक गहिरो प्रभाव पाऱ्यो । आज, उहाँको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा, हामी उहाँप्रति श्रद्धासुमन अर्पण गर्दैछौँ । उहाँको अनुपस्थितिले नेपाली राजनीति र बौद्धिक समाजमा गहिरो शून्यता सिर्जना गरेको छ, जसको भरपाइ गर्न कठिन छ ।

प्रदीप गिरीको जन्म २००४ सालमा सिराहा जिल्लामा भएको थियो । उहाँले प्रारम्भिक शिक्षा गाउँमै हासिल गर्नुभयो र पछि भारतमा उच्च शिक्षा हासिल गर्न जानुभयो । प्रदीप गिरी बाल्यकालदेखि नै असाधारण तीक्ष्ण बुद्धिका धनी थिए । उहाँ अरूभन्दा फरक देखिनुहुन्थ्यो, र सानै उमेरदेखि नै उहाँमा गहिरो आलोचनात्मक सोच र तार्किक क्षमता थियो । उहाँले कुनै पनि विषयलाई गहिराइमा गएर सोच्न र विश्लेषण गर्न सक्नुहुन्थ्यो, जसले गर्दा उहाँको व्यक्तित्व सानैदेखि नै विशिष्ट र प्रभावशाली देखिन्थ्यो । उहाँ भारतमा अध्ययनरत रहँदा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभयो । उहाँको समाजवादप्रतिको दृष्टिकोण विशुद्ध नेपाली सन्दर्भमा आधारित थियो, जहाँ उहाँले दलित, महिला, मधेसी, जनजाति, र अन्य उत्पीडित वर्ग तथा समुदायको हकहितका लागि सदैव वकालत गरि रहनुभयो ।

प्रदीप गिरी बी.पी. कोइराला र कृष्णप्रसाद भट्टराईका निकट र प्रिय व्यक्तित्व थिए । बी.पी. कोइराला निर्वासनमा रहँदा, वनारसमा बसेका बेला, प्रदीप गिरी, जो त्यतिबेला युवा थिए, बी.पी.सँग गहन र आलोचनात्मक छलफलमा सहभागी हुन्थे । उहाँको ‘करिस्म्याटिक’ व्यक्तित्वले जनतालाई मात्र नभएर उहाँका प्राध्यापकहरूलाई समेत प्रभावित बनाएको थियो । उहाँका प्राध्यापकहरू उहाँप्रति अत्यन्त स्नेहभाव राख्थे र उहाँका विचारधाराहरूबाट प्रभावित थिए । प्रदीप गिरीको त्यो विशिष्टता र बौद्धिक तीक्ष्णताले उहाँलाई बी.पी. कोइरालाको सान्निध्यमा राख्न सक्षम बनायो, जसले गर्दा उहाँ नेपाली समाज र राजनीतिमा महत्वपूर्ण भूमिका निभाउनुभयो ।

प्रदीप गिरीको जीवनशैली सरलता र निष्ठामा आधारित थियो, उहाँको जीवनमा गान्धीवादी शैली र सिद्धान्तहरूको गहिरो प्रभाव देखिन्थ्यो । प्रदीप गिरीले गान्धीवादी सिद्धान्तहरूलाई केवल सैद्धान्तिक रूपमा मात्र होइन, आफ्नो दैनिक जीवनमा पनि पूर्ण रूपमा अपनाउनुभएको थियो । उहाँले आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा सादगी, सत्यता, र निष्ठालाई प्राथमिकता दिनुभयो । उहाँले महात्मा गान्धीको अहिंसा, सत्याग्रह, र स्वावलम्बनको आदर्शलाई आत्मसात गर्दै आफ्नो जीवनलाई नेतृत्व गरिरहनुभयो । उहाँले सादा जीवन उच्च विचारको मार्ग अनुसरण गर्दै विलासिता र भौतिक सुखसुविधाहरूबाट टाढा रहनुभयो । उहाँले कहिल्यै पनि विलासी जीवनशैलीको पछि लाग्नुभएन, बरु समाजको सबैभन्दा कमजोर र पिछडिएको वर्गको हकहितका लागि आफ्नो जीवन अर्पण गर्नुभयो ।

प्रदीप गिरीको पोशाक, भोजन, र आवास सबैमा सरलता झल्किन्थ्यो, जसले उहाँलाई जनतासँग जोड्न सफल बनायो । सत्य र अहिंसाको मार्गमा अडिग रहँदै, उहाँले कुनै पनि राजनीतिक आन्दोलनमा हिंसा भन्दा पनि अहिंसा र शान्तिपूर्ण पद्दतिको पक्ष मा आफ्नो आवाज बुलन्द गर्नुभयो । स्वावलम्बन र आत्मनिर्भरताको पक्षपाती रहँदै, उहाँले स्थानीय स्रोतहरूको उपयोग र समुदायको सशक्तिकरणमा जोड दिनुभयो । यसरी, प्रदीप गिरीले गान्धीवादी सिद्धान्तहरूलाई आफ्नो जीवनशैली र कर्ममार्फत जीवित राख्न सफल हुनुभयो, जसले उहाँलाई नेपाली समाजमा एक आदर्श व्यक्तित्वको रूपमा स्थापित गरायो ।

प्रदीप गिरीले सिराहाको लहानमा स्थापना गर्नुभएको ‘श्री आश्रम’ उहाँको सामाजिक परिवर्तनको दृष्टिकोणको एक उत्कृष्ट उदाहरण हो । श्री आश्रमलाई उहाँले युवाहरू र उत्पीडित समुदायको सशक्तिकरणका लागि एक प्लेटफर्मको रूपमा प्रयोग गर्नुभयो । यो आश्रमले शिक्षात्मक, सांस्कृतिक, र समाजिक कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीय समुदायलाई जागरूकता र आत्मनिर्भरता तर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेको छ । प्रदीप गिरीको नेतृत्वमा आश्रमले युवाहरूलाई नेतृत्व विकास, रोजगारमूलक तालिम, र सामाजिक न्यायको पक्षमा अभियानहरूमा संलग्न गराउँदै समाज परिवर्तनको अभियानलाई गति दिएको थियो ।

उहाँ नेपाली युवा नेताहरूलाई गान्धीवादी सिद्धान्तहरूको गहिरो अध्ययनका लागि भारतस्थित गान्धिवादी शिक्षालयहरूमा पठाउनुहुन्थ्यो । गान्धीवादी विचारधाराले नैतिकता, सत्य, र अहिंसाको मार्गमा आधारित सशक्त नेतृत्व निर्माण गर्न सक्दछ, भन्ने कुरामा उहाँको दृढ विश्वास थियो । उत्पीडित समुदायका अधिकारका लागि लड्न र उनीहरूलाई सशक्त बनाउन श्री आश्रम एक प्रभावकारी केन्द्रको रूपमा स्थापित भएको थियो, जसले प्रदीप गिरीको समर्पण र समाजप्रतिको उत्तरदायित्वलाई प्रतिबिम्बित गर्छ ।

पद र शक्तिको लोभ नगरी राजनीति र समाजसेवामा समर्पित व्यक्तित्वको रूपमा, प्रदीप गिरीले जनताको विश्वास जित्न र नेपाली राजनीति र समाजमा उच्च आदर्श स्थापित गर्न सफल हुनुभयो । उहाँ सधैं आदर्श र सिद्धान्तका लागि अडिग रहनुभयो, जसले गर्दा उहाँले कहिल्यै व्यक्तिगत स्वार्थ वा पदको लागि आफ्नो मूल्यहरूबाट सम्झौता गर्नुभएन । उहाँको राजनीतिक यात्रा अवसरवादभन्दा अलग रह्यो, र उहाँले जनताको पक्षमा बोल्न कहिल्यै हिचकिचाहट देखाउनुभएन । उहाँले उच्च पद र शक्तिको लोभ नगरी समाजका उत्पीडित वर्गका लागि निरन्तर संघर्ष गर्नुभयो । गिरीको जीवन र दर्शनले हाम्रो समाजलाई सच्चा नेतृत्व कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएको छ भने उहाँको नेतृत्वले सच्चा राजनीतिक नायकको परिभाषा दिएको छ, जहाँ शक्ति र पदभन्दा ठूलो मानवीय मूल्य, नैतिकता, र समाजको हित हुन्छ ।

प्रदीप गिरीको नेपाली राजनीतिमा अत्यन्त महत्वपूर्ण योगदान छ । खासगरी नेपाली कांग्रेसको विचारधारालाई नयाँ ढंगले पुनः परिभाषित गर्न र पार्टीभित्र समाजवादी धारलाई बलियो बनाउन उहाँको भूमिका निर्णायक रह्यो । उहाँले पार्टीभित्र समाजवादको पक्षमा बलियो आवाज उठाउनुभयो र समाजवादी धारलाई जनतासँग जोड्न सफल हुनुभयो । उहाँले पार्टीकोभित्र रहेका विभाजन र वैचारिक मतभेदलाई सम्बोधन गर्दै समाजवादको मार्गमा अघि बढ्न नेपाली कांग्रेसलाई उत्प्रेरित गर्नुभयो । उहाँको नेतृत्वमा समाजवाद केवल एक आदर्शवादी सोचको रूपमा सीमित रहेन, बरु त्यसले नेपाली जनताको दैनिक जीवनमा प्रभाव पार्ने नीति र कार्यक्रमहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्यो ।

प्रदीप गिरीले भूमि सुधार, शिक्षामा समान पहुँच, र आर्थिक असमानता हटाउने योजनाहरूलाई प्राथमिकतामा राख्न पैरवी गर्नुभयो । उहाँको विचार र दृष्टिकोणले गर्दा नेपाली कांग्रेसले समाजवादको पक्षमा ठोस कदम चाल्न सक्यो । विशेष गरी, उहाँले मजदुर, किसान, दलित, मधेशी र महिलाका मुद्दाहरूलाई राजनीतिमा प्राथमिकतामा राख्न सफल हुनुभयो । उहाँको वाणीमा सत्य, न्याय र समानताको भावना झल्कन्थ्यो । उहाँको सिद्धान्त र विचारहरू केवल किताबी थिएनन्; उहाँले त्यसलाई आफ्नो जीवनशैलीमा अपनाउनुभएको थियो । गिरीको योगदान केवल राजनीति र समाजवादमा मात्र सीमित थिएन । उहाँले नेपाली समाजको सांस्कृतिक पुनर्जागरणमा पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले नेपाली समाजलाई बाह्य रूपले होइन, शिक्षा, चेतना, र आत्मविश्लेषणको माध्यमबाट आन्तरिक रूपमा परिवर्तन गर्न चाहनुहुन्थ्यो ।

नेपालमात्र होइन, प्रदीप गिरीको प्रभाव दक्षिण एसियाली राजनीतिमा पनि महत्वपूर्ण थियो । उहाँको भारतका धेरै प्रख्यात समाजवादी नेताहरूसँग पनि गहिरो सम्बन्ध थियो, जसले गर्दा उहाँको दृष्टिकोण र विचार को प्रभाव दक्षिण एसियाको समाजवादी आन्दोलनमा समेत पऱ्यो । उहाँले नेपाल र भारतका समाजवादी नेताहरूबीच वैचारिक आदानप्रदानको पुलको रूपमा काम गर्नुभयो ।

प्रदीप गिरीको देहावसानले नेपाली राजनीतिक क्षेत्र र सामाजिक आन्दोलनमा अपूरणीय क्षति पुऱ्याएको छ । तर उहाँका विचारहरू र सिद्धान्तहरू हामी सबैका लागि प्रेरणाको स्रोत बनेर रहिरहनेछन् । उहाँको स्मरणले हामीलाई समाजका उत्पीडित वर्गको अधिकारका लागि लड्न, न्याय र समानताको पक्षमा आवाज उठाउन, र समाजवादको सही मर्मलाई बुझ्न प्रेरित गर्छ । उहाँ अहिले हाम्रो बीचमा नरहनुभएता पनि उहाँको विचार, योगदान, र उहाँले देखाउनुभएको बाटो सदैव हाम्रो हृदयमा जीवित रहनेछ । नेपाली समाज र राजनीति उहाँको प्रेरणादायी योगदानको लागि सधैं ऋणी रहनेछ । प्रदीप गिरीको आदर्श र सिद्धान्तले आगामी पुस्तालाई न्याय, समानता र समृद्धिको दिशामा अग्रसर हुन मार्गदर्शन गर्नेछ ।

प्रदीप गिरी, तपाईंको स्मृतिमा हामी सधैं प्रेरित हुनेछौं, यहाँलाई कोटी-कोटी नमन ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा उप-प्राध्यापक हुनुहुन्छ ।)