मूर्तिकलामा पनि बाह्य अतिक्रमण !

मूर्तिकलामा पनि बाह्य अतिक्रमण !


■ द्रोण अधिकारी, भद्रपुर

झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा तीन दशकयता माटाको मूर्ति बनाएर जीवन चलाइरहेका कलाकार हुन् विष्णु राजवंशी ।

दुई सन्तानको शिक्षादीक्षा र चार जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेको कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ ।

उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन् तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा आर्थिक सङ्कटको सामना गर्नुपरेको उनको दुखेसो छ ।

अभिषेक मूर्ति उद्योगका नाममा वैधानिक रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी सङ्क्रमण गरिरहेको उनको भनाइ छ । अवैध रूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने विष्णु जस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नु पर्ने दिन आइसकेको उनले औंल्याएका छन् ।

मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको मेचीदेखि महाकालीसम्म पहिचान बनाएर फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथा जस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दु परम्पराका विशेषगरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्मा पूजा, देवी पूजालगायतका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा सक्रिय हुने गरेका छन् ।

राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति बनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरूमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुई छोराछोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो । भारतमा सस्तो मूर्ति पाइने हल्लाले ग्राहक भारततिर जाने वा भारतीय व्यापारीले गाउँगाउँमा गएर मूर्ति बेच्न थालेपछि समस्या आउन थालेको राजवंशीको भनाइ छ । उनका अनुसार भारतीय बजारमा भन्दा उनको उत्पादन रहेका मूर्ति निकै सस्ता छन् तर प्रचार अभावले ग्राहकले चाल नपाएका कारण बाहिर जाने गरेका छन् ।

माटोसँगै खेलेर चार जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसँगै साट्दै भगवान शिव, पार्वती काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका अतिरिक्त अन्य जुनसुकै प्रकारका मूर्ति बनाउने गर्दछन् । मूर्तिबाटै घरपरिवार चलाउँदै समाजिक सेवामा समेत सहयोग र लगानी गरिरहेका छन् । राजवंशी स्वदेशी श्रम र माटोको माया गर्ने समाज सेवा र सुशासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रूपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचारसुन्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिसनविहीन सेवा अभियान समेत चलाइरहेका छन् ।

पछिल्लोपटक सघन सहरी विकास कार्यक्रमअन्तर्गत भद्रपुर नगरमा भइरहेको सडक बढाउने तथा स्तरीकरणको काम कमिशनमा चल्दा गुणस्तरहीन भइरहेको भन्दै आवाज उठाउने राजवंशी सामान्य लेखपढमात्र गरेका व्यक्ति हुन् । उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घीकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरूरी ठान्छन् ।

पैसा र पहुँचमा राज्य सञ्चालक अलमल गरिरहेसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् । चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उल्लेख गर्दछन् ।

नेपाली माटोलाई माया गर्ने राजवंशी मूर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् । राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय अघोषित रूपमा राजनीतिपीडित भएको गुनासो गर्छन् । उनले आफ्नै पार्टीभित्रका स्वार्थी लोभीहरूको सिकार हुनुपरेकोले राजनीतिमा पछाडि परेको अनुभव सुनाए । उनीसित सम्पर्क गर्न चाहनेले ९८१४९३३७७० नम्बरमा सम्पर्क गर्न सकिने बताउँछन् । राजवंशी आफूसित रहेको कला अन्यमा पनि हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही नआएको बताउने गर्छन् । माटो मात्र नभएर सिमेन्टका समेत मागबमोजिम मूर्ति बनाउन सक्ने राजवंशी पछिल्लो समय ग्राहक अभावले पेशा सङ्कटको सामना गरिरहेको जनाउँछन् ।