‘घरेलु रक्सीलाई नियन्त्रण होइन नियमन गर्नुपर्छ’

‘घरेलु रक्सीलाई नियन्त्रण होइन नियमन गर्नुपर्छ’


सरकारको नीति र अकर्मण्यताले नेपाली स्थानीय रक्सीलाई प्रतिबन्धित व्यवहार गरिन्छ, तर विदेशी रक्सी भित्र्याउन प्राथमिकता दिइन्छ । ग्रामीण इलाकामा स्थानीय महिलाहरूले बनाउने रक्सीले उनीहरूको जीवन स्तर उकास्न मद्दत पुग्थ्यो । आर्थिक रूपले उनीहरू सबल हुन्थे । सरकारले केवल नियमन गर्नु आवश्यक थियो ।

विशेष तालिम दिने तथा रक्सी उत्पादन गर्दा अखाद्य बस्तु प्रयोग गर्न बन्देज लगाउने हो भने अन्तर्राष्ट्रिय रक्सी प्रतिस्थापन हुने तथा नेपाली पूँजी विदेशिन कमी हुन्थ्यो । बेलायतमा नेपालीहरुलाई अत्याधुनिक रुपमा नेपाली रक्सीको उत्पादन गरेको छ । अब केही समयमा बेलायती तीनपाने रक्सी चर्को भन्सार मूल्य लिँदै सरकारले भित्र्याउन अनुमति दिनेछ । ग्रामीण महिलाले उत्पादन गरेको रक्सी दोबाटोमा खन्याउने सरकारले विदेशी भूमिमा उत्पादित नेपाली रक्सीलाई भने भव्य स्वागत गर्छ ।

केही वर्षअघि सिएनएनले गरेको सर्वेक्षणमा नेपालको स्थानीय स्तरमा उत्पादन हुने रक्सी विश्वको ४१औँ उत्कृष्टमा परेको थियो । नेपालमा सरकारी निकायद्वारा बेलाबेलामा स्थानीय उत्पादनलाई हतोत्साहित तुल्याउन उत्पादन गर्ने ठाँउमा गइ भाँडाहरू तोडफोड गर्ने तथा उत्पादित रक्सीलाई खन्याउने गरिन्छ । तर विदेशी कम्पनीका रक्सी जुन यहाँ उत्पादन हुन्नन् या आयात गरिन्छन्, यसलाई निरूत्साहित गर्न खोजिँदैन । हरेक वर्ष केही कर वृद्धि गर्नुबाहेक केही गरिँदैन ।

नेपाल सरकारले नेपालमा उत्पादन हुने घरेलु रक्सीलाई नियन्त्रण गर्ने होइन नियमन गर्ने तथा स्तरीय रक्सी उत्पादनमा प्रोत्साहन गर्ने हो भने विदेशी रक्सीको आयातलाई धेरै हदसम्म घटाउन सकिन्छ । साथै ग्रामिण महिलाहरुको जीवनस्तरलाई उकास्न सकिन्छ ।

कोरियामा उनिहरुको घरेलु रक्सी सोजुले अन्तराष्ट्रिय बजार समेत ओगट्न सफल भएको छ । सोजु रक्सीकै अन्तर्राष्ट्रिय ब्रान्ड Jinro Soju विश्वको सबैभन्दा बढी बिक्री हुने रक्सीमा पर्न सफल भएको छ । कोरियामा एउटै मुल्यको सोजु साधारण कामदार देखी राष्ट्रपति सम्मले पिउँछन् । तर यहाँ रक्सीले नै आफ्नो औकात देखाउने भ्रम फैलिएको छ । यहाँ हाम्रो वरपर साथीहरु नै आफ्नो स्तर देखाउन अन्तर्राष्ट्रिय ब्रान्डका रक्सी सजाएका तस्बिरहरु सामाजिक सञ्जालमा राखेर आफ्नो स्तर उच्च रहेको सावित गर्न खोज्छन् ।

दक्षिण कोरियामा उत्पादन हुने कुकसुनडांग मग्यौलीलाइ नेपाली बजारमा छ्याङ नाम राखेरै भित्राइएको छ । तर नेपालमा नै छ्याङ उत्पादनका लागि भने सरकारले कुनै नीति अपनाएको देखिँदैन । उपत्यकामा नेवाः समुदाय सयौ वर्षदेखि छ्याङ (थ्वः) बनाउने गरिन्छ । ह्यउथ्व, अजिथ्व, कताथ्व विभिन्न किसिमका थ्वहरू बनाउने र पिउने परम्परा नै रहेको छ । अन्य जातिहरूमा पनि बिभिन्न किसिमका जाँडहरू बनाउने परम्परा रहेको पाइन्छ ।

यहाँ कुनै बेला काठमाडौंको बौद्धमा स्थापित नेपाल छ्याङ इन्डस्ट्रिजबाट उत्पादन भएको छ्याङको बोटलमा टाँसिएको स्टिकर देख्न सकिन्छ । यस अर्थमा नेपालमा स्थानीय छ्याङ उत्पादन गर्ने उद्योग पनि खुलेको थियोे भन्ने बुझ्न सक्दछौ । यदि सरकारले निश्चित मापदण्ड तथा नियमित नियमन गरेर स्थानीय रक्सी तथा छ्याङ उत्पादन गर्न दिने हो भने नेपालबाट विदेशिने ठूलो धनराशि जोगाउन सकिन्थ्यो ।