✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ११ गते तद्अनुसार सन् २०२४ अगस्त २७ तारिख मंगलबार भाद्र कृष्ण पक्षको अष्टमी तिथि ६ः४० पर नवमी तिथि रोहिणी नक्षत्र हर्षन योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । श्रीकृष्णरथयात्रा ।
आजको राशिफल
मेष – काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ला । तथापि, अरूलाई प्रभावित पारेर केही फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ हुने योग छ । स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनसम्बन्धी कार्य अधुरै रहला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खनु हितकर होला ।
वृष – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने तथा विभिन्न उपहार प्राप्त हुने समय छ । तपाईंका कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । शुभ समाचार प्राप्त हुनेछ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला, विवेकका साथ व्यवहार गर्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – शुभदायी समय छ । सहयोगीहरूले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ ।
कर्कट – आजको दिन बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा हुने पनि देखिन्छ । आफन्तबाट टाढिनुपर्ला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुने र सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । भौतिक साधन जुट्नाले व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । तर, तपाईंको आय-आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय रहेकोले विशेष चनाखो रहनुपर्ला । श्रमको उचित मूल्य नमिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । कर्मबल बढ्नेछ
कन्या – नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुनेछ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ, ध्यान राख्नुहोला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला । भाग्यबल वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ भने प्रतिभाको कदर हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । दौडधुप वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ भने ब्यवसायमा राम्रै लाभ हुनेछ । तर, अरूको भर पर्दा धोका हुन सक्छ, ध्यान रख्नुहोला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।
धनु – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, संयमतापूर्ण व्यवहारको दरकार छ । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । अरूको सुझावमा भर नपर्नु नै बेस होला । आरोग्यता बढ्नेछ ।
मकर – मिश्रित फलदायी समय छ । अध्ययन/अध्यापनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पनि मिल्ने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । महत्वपूर्ण योजना कार्यान्वयनमा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हेला । प्रेमभाव बढ्नेछ ।
कुम्भ – व्यस्तता वृद्धि भएपनि आजको दिन जाँगर र उल्लासमाा बित्ने देखिन्छ । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कारसमेत पाइने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन – पराक्रम वृद्धि हुनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । तर, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्छ । व्यावसाय विस्तारका लागि यात्राको योग छ । आरोग्यता रहनेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया